Admission Open

पदाधिकारीको इगोले वीपी प्रतिष्ठान धरासायी बन्यो : कर्मचारी

धरान : सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चारजना पदाधिकारीहरुको व्यक्तिगत इगोका कारण प्रतिष्ठान धरासायी बनेको यहाँका कर्मचारीहरूले बताएका छन् । आईतवार धरान नागरिक दवाव संचालले प्रतिष्ठानका विभागीय प्रमुखहरूसंग गरेको अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनीहरूले उक्त कुरा बताएका हुन् ।
वर्षदिनदेखि बीपी प्रतिष्ठानको स्वास्थ्य सेवा राम्रो नभएको, प्रतिष्ठानमा भर्ना हुन आउने विरामीलाई भर्ना नगरेको र प्रतिष्ठानमा पदाधिकारीहरूले आर्थिक अनियमितता गरी धरानकै गहनाको रुपमा रहेको प्रतिष्ठान लथालिङ्ग बनाएको भन्दै प्रतिष्ठान सुधार गर्न विभिन्न नौ दलसहितको बृहत नागरिक दवाव संजाल गठन गरी धरानवासी आन्दोलनमा उत्रिएका छन् । नागरिक दवाव समूहले प्रतिष्ठान सुधार गर्न हप्तादिनको अल्टिमेटम दिएको भएपनि प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरी र रजिष्ट्रार डा. मोहनचन्द्र रेग्मी काठमाडौँ गएका छन् ।
पदाधिकारीहरू नै कार्यालयमा बसेर कार्यसम्पादन नगरेपछि प्रतिष्ठानको अबस्था दिन प्रतिदिन कमजोर बन्दै गएको छ । अन्तर्क्रिया कार्यक्रममा बोल्दै प्रतिष्ठानको कर्मचारी कल्याण समाजका अध्यक्ष उमेश थापाले प्रतिष्ठानका चारजना पदाधिकारीहरू उपकुलपति डा. ज्ञानेन्द्र गिरी, शिक्षाध्यक्ष डा. गुरु खनाल, रजिष्ट्रार डा. मोहनचन्द्र रेग्मी र निर्देशक गौरीशंकर साहका कारण प्रतिष्ठान लथालिङ्ग बनेको आरोप लगाएका छन् । उनले प्रतिष्ठानका चारजना पदाधिकारीहरू चारैतिर लागेर प्रतिष्ठानको हितमा भन्दा पनि एक अर्कामा आरोप प्रत्यारोप लगाउन सक्रिय भएका कारण प्रतिष्ठानको अवस्था कमजोर बनेको बताए । पदाधिकारी नै चारतिर लागेकाले चिकित्सक र कर्मचारी पनि बाँडिएर काम भन्दाबढी राजनीति गर्न थालेकाले प्रतिष्ठानको अबस्था दिन प्रतिदिन नाजुक बन्दै गएको अध्यक्ष थापाको भनाइ छ ।
प्रतिष्ठानको आर्थिक प्रशासन महाशाखा प्रमुख कमल रायमाझीले आर्थिक रुपमा पनि बीपी प्रतिष्ठान धरासायी बन्दै गएको बताए । उनले असारसम्ममा प्रतिष्ठानको घाटा ९० करोड पुगेको बताए । सरकारले एकसय १५ एबिबिएस विदार्थी कोटाबाट घटाएर एकसयमा झारेका कारण प्रतिष्ठानलाई बढी आर्थिक भार परेको रायमाझीको भनाइ छ ।


कर्मचारी प्रशासन महाशाखा प्रमुख उमेश कोइरालाले सरकारले अयोग्य व्यक्तिहरूलाई प्रतिष्ठानको पदाधिकारी नियुक्त गरेका कारण उनीहरूले प्रतिष्ठानको नेतृत्व सम्हाल्न नसकेको आरोप लगाए । उनले प्रतिष्ठान बुझेको योग्य र अनुभवी व्यक्तिलाई प्रतिष्ठानको पदाधिकारी नवानाएकै कारण अहिलेको अवस्था आएको बताए । परीक्षा शाखाका प्रमुख प्रकाश श्रेष्ठले प्रतिष्ठानमा पदाधिकारी मात्र नभएर प्रत्येक विभागका प्रमुख र सबै कर्मचारी चिकित्सक, नर्स जिम्मेवार भएर प्रतिष्ठान सुधार गर्नुपर्ने बताए पनि पदाधिकारीहरू नै विभाजनमा लागेका कारण चिकित्सक र कर्मचारीहरूमा समेत गुटगत विभाजनका कारण प्रतिष्ठान धरासायी बनेको उनको भनाइ छ ।
नागरिक दवाव संचालकका अध्यक्ष डा. राजेन्द्र शर्माले धरासायी बनेको प्रतिष्ठान नेतृत्वका कमजोरी र सुधार गर्ने उपायका विषयमा जानकारी लिने उद्देश्यले कर्मचारीहरूसंग अन्तर्क्रिया गरिएको बताए । उनले प्रतिष्ठान सुधार गर्न दिएको समय सकिएकाले संजालले अन्य कार्यक्रम अगाडि बढाउने बताए ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...