Admission Open

पीडा र त्रासमा बाँच्दै मृतकका परिवार

दुर्गा देवकोटा

टीकापुर, २० जेठ / कैलालीकी ४० वर्षीय एक महिलाका श्रीमान्को कोरोना सङ्क्रमणका कारण मृत्यु भयो । यसअघि तीन सन्तान र पुनः गर्भवती भएकी ती महिलालाई श्रीमान् बितेपछि दिउँसै रात प¥यो । लामो समय श्रीमान्को स्याहारमा खट्नुभएकी उहाँका श्रीमान्को श्वासप्रश्वासमा समस्या आई अस्पतालमा ज्यान गएपछि उहाँ अर्धचेत हुनुभयो । “श्रीमान्को शव सेवाले लगेर अन्त्येष्टि ग¥यो, हामी हिन्दू धर्मानुसार काजक्रियामा बस्यौँ”, उहाँले भन्नुभयो, “केही दिनमा स्थानीय तहले हाम्रो कोरोना परीक्षणका लागि स्वाब लियो । मलगायत घरमा तीन जना सङ्क्रमित देखियौँ ।”

गर्भवती उहाँलाई निकै तनाव भयो । एकातिर श्रीमान् रहेनन्, अर्कोतर्फ आफू गर्भवती । गर्भावस्थामा अनावश्यक औषधि सेवन गर्न हुँदैन भन्ने सुनेकी उहाँलाई अब आफू पनि मरेमा तीन सन्तानको बिचल्ली होला भन्ने पीरले सतायो । “श्रीमानको क्रियामा बस्दा खानपिनमा पनि ध्यान दिइएन, खान मन पनि रहेन, रातदिन पीडा र त्रासले सतायो”, उहाँले भन्नुभयो, “यस्तो बेलामा छिमेकी र आफन्त आउन पनि डराउने रहेछन्, आफन्तको काखमा शिर राखेर पीडा सकिने गरी रुन पनि पाइएन ।”

उहाँले छोराछोरीको मुख हेर्दै पीडा लुकाएर बसेको बताउनुभयो । “मैले बाँच्नुपर्छ भन्ने सोचेँ, मेरो वरिपरि रहेका र गर्भमा रहेको बच्चाका लागि हिम्मत गरेँ । धन्न आज हामी ठीक छौँ”, उहाँले भन्नुभयो ।

कैलालीको टीकापुरमा एक युवकलाई कोरोना सङ्क्रमण भयो । युवक बिरामी भएपछि आमाले युवकलाई लिएर नेपालगञ्ज जानुभयो । छोराको सेवा गर्दागर्दै आमा पनि सङ्क्रमित हुनुभयो । छोराको उपचारका लागि गएकी आमाको मृत्यु भयो । आमाको मृत्यु भएको केही दिनमा छोराको पनि ज्यान गयो । दवबै आमाछोरा नरहेपछि परिवारमा बिचल्ली छाएको छ । “टीकापुरमा व्यवसाय गर्ने हाम्रोे परिवारमा बिचल्ली आएको छ । म पनि सङ्क्रमित छु”, मृतककी छोरीले भन्नुभयो, “हाम्रो परिवारमा व्यापार गरेर घर चलाउने मानिस पनि रहेनन्, घरमा खानाकै समस्या छ । हामीलाई जस्तो विपत्ति कसैलाई नआओस् ।”

दुई दिनअघि टीकापुर नगरपालिकाले किरिया खर्चवापत रु १० हजार दिएपछि उहाँ केही खुशी हुनुभयो । “हामीलाई सहयोग चाहिएको छ । हाम्रो पेट भर्ने माध्यम ढलेकाले हामीलाई आत्मविश्वास मात्र होइन आर्थिक सहायताको समेत खाँचो छ”, मृतककी छोरीले भन्नुभयो ।

कैलालीमा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउने अधिकांश आफन्तका पीडा यस्तै छन् । सङ्क्रमणका कारण ज्यान गुमाएका अधिकांशका परिवार सङ्क्रमित छन् भने अधिकांश परिवारमा आर्थिक र सामाजिक समस्या देखिएको छ ।

कोरोना सङ्क्रमणका कारण आफन्त गुमाएका परिवारलाई सान्तवना दिन कैलालीका केही पालिकाले किरिया खर्च दिने र केही पालिकामा जनप्रतिनिधि पुगेर सान्त्वना दिन थालेका छन् । सङ्क्रमणले आफन्त गुमाएर पीडामा रहेकाहरुको मनोबल बढाउन र पीडा साट्न पालिकाले गरेका कार्यले केही राहत भएको छ । सुदूरपश्चिम प्रदेशमा हालसम्म कोरोना सङ्क्रमणका कारण ५०६ जनाको मृत्यु भएको छ । कैलालीको टीकापुर नगरपालिकामा सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ३७ पुगेको छ ।

टीकापुरले रु १० हजार किरिया खर्च उनीहरुकै घरमा पुगेर दिने गरेको छ । “सङ्क्रमणका कारण आफन्त गुमाएकाहरुलाई सामाजिक दुव्र्यवहार गर्नु हुँदैन । हामी उहाँहरुकै आँगनमा पुगेर केही समय उहाँहरुका समस्या सुन्छौँ, छिमेकीलाई पनि सहयोगी बन्न सल्लाह दिन्छौँ अनि किरियाखर्च दिएर आउँछौँ”, टीकापुरका नगर प्रमुख तपेन्द्रबहादुर रावलले भन्नुभयो, “मृत्युकर्म गरिरहेकाहरु त्यसै पीडामा हुन्छन्, अर्कोतर्फ अधिकांश परिवार नै सङ्क्रमित छन् । यस्तो बेला समुदायको सहयोग पाइएको छैन । त्यसैले हामी पुग्न थाल्यौँ, समस्या भएकालाई सहयोग गर्न पनि थालेका छौँ ।”

केही पालिकाले सङ्क्रमितलाई स्वास्थ्य सामग्री उपलब्ध गराउन थालेका छन् । टीकापुरले उनीहरुलाई स्वास्थ्य सामग्री र स्वास्थ्य परामर्श दिन थालेको जनस्वास्थ्य प्रवद्र्धन उपशाखाका संयोजक बलबहादुर रावल बताउनुहुन्छ । “धेरै दिनसम्म होम आइसोलेशनमा बसेकाहरुका मनमा अनेक विचार आउने भएकाले केही सङ्क्रमितमा मनोसमस्या देखिएको छ”, रावल भन्नुहुन्छ, “यसले भोलिका दिनमा परिवारमै समस्या हुनसक्छ । हामी समस्या भएकाहरुसँग लामो छफलफ गर्ने, डाक्टरको सम्पर्कमा ल्याउने काममा समेत जुटेका छौँ ।”

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...