Admission Open

कोरोना अनुभव : वास्तवमै सोचेझैँ रहेनछ कोरोना

[ जित्नेले त जितियो, बाँचियो, हार्नेहरू सधैँलाई हारेर गए, नफर्कनेगरी...]

# भीमादेवी आचार्य 

काठमाडौ : जवसम्म आफूलाई केही हुँदैन, तवसम्म सबैलाई कोरोना केही होइन, केवल रुघाखोकीजस्तै सामान्य भाईरल हो । हामीजस्तालाई केही हुँदैन त्यसै पचाईन्छ भन्ने लाग्छ । मलाई पनि त्यही अहम् थियो । त्यसैले सामान्य सावधानी अपनाउँदै दैनिक कामकाजमै व्यस्त हुन्थेँ । पसलमा नियमित आउने ग्राहक छुटाउन मन लाग्दैनथ्यो । एउटा पेन्सिल किन्न आउनेलाई पनि यसो सटर तानेर दिन पाए हुन्थ्यो भन्ने लागेर जो आए पनि सम्भव भएसम्म डराईडराई सामानहरू निकालेर दिन्थेँ । पत्रपत्रिकाहरू पनि नराख्ने भन्दाभन्दै लोभ लाग्थ्यो । थोरै नाफा भए पनि तरकारी टर्छ भन्ने लाग्थ्यो र हामी दुबै श्रीमान-श्रीमतीनै होलसेलतिर जान्थ्यौँ ।

कोरोना कहर बढिरहेको थियो । संक्रमितहरू थपिएका थपिएै थिए । मनमा आफ्नोभन्दा आफ्ना सानासाना नानीबाबुहरू र श्रीमानलाई केही होला कि भन्ने चिन्ता लागिरहन्थ्यो तर भित्री मनमा चाँहि हामीलाई केही हुँदैन भन्ने आडम्बर थियो किनभने खानपानमा म अरु भन्दा अलि फरक छु । हरेक दिन चिया पकाउँदा पनि चियापत्तिको सट्टा लेमन ग्रास, तुलसीको पत्ता, तेजपात, ल्वाङ मरिच र सुकुमेलको धुलो, जेठीमधुको धुलो आदि राखेर र चिनीको सट्टा मिश्री र सक्खर राखेर चिया खुवाउँथेँ । केही दिनको फरकमा चियाको सट्टा कोदोको खोले आदि शरीरलाई तातो राख्ने र आईरन प्रोटिनयुक्त खानाहरू खुवाईरहन्थे । त्यसैले पनि मलाई लाग्थ्यो हामीलाई कोरोनाले छुँदैन तर त्यसो मात्र होईन रहेछ । खानाको कारणले रोगलाई जित्न त सहयोगी हुँदो रहेछ तर रोगकै बाटो छेक्ने चाहिँ होईन रहेछ । तर जति मानिसहरू हताहत हुनुभयो मेरो जानकारीमा आएकामध्ये कतिपय त खानापानकै कारणले जस्तो लाग्छ । जसको धुम्रपान, मध्यपानको लत थियो र कोभिड भईसकेपछि पनि त्यो लत छोड्न नसक्नुनै मृत्युको कारण हो कि जस्तो लाग्छ । मैले भन्न खोजेको, अरुबेला जे भए पनि बिरमी भइसकेपछि धेरै साबधानी अपनाउनु पर्छ भन्ने हो । मेरै छिमेकमा कतिपयले, “एक पेग खाएपछि कोरोना चट हुन्छ, कोरोना केही होईन” भनेको पनि सुनेकी छु ।

२०७८ वैशाख २९ गतेको दिन अरू दिनझैँ सामान्यरुपमै मेरो दैनिकी शुरु भयो । विहान ४ः३० बजे उठेर हामी दुबै पसलको केही सामान लिन न्युरोडतिर गयौँ । सामान ल्याएर पसलमा आउने ग्राहकलाई पत्रपत्रिकादेखि कापी, कलम र खेलौनाहरू दिएँ । लगभग १० बजेतिर बाहिरी कपडा सबै छतमै खोलेर घाममा सुकाएर, साबुनपानीले राम्रोसँग हातखुट्टा धोएर भान्सामा पसेँ । खाना बनाएर सबै परिवारसँगै बसेर खाना खायौँ ।

सिमसिम पानी परिरहेको थियो । लगभग १२ बजेतिर उहाँ (श्रीमान्) बैँकतिर जान्छु, पेट्रोल पनि हालेर आउँछु भनेर बाहिर निस्कन खोज्दै हुनुहुन्थ्यो । त्यसैबेला अफिसको साथीले फोन गरेर अफिसको खै केके कामको कुरा गर्नु भयो । उहाँले म बैँक जान लागेको छु, आएर गर्छु भन्नु भयो । अफिसको साथीले बैँकतिर नजानुस्, बैँकमा झन खतरा छ भन्नुभयो । हिँड्न लागेको मान्छे पुनः फर्कनुभयो । एकछिनपछि पानी पनि अलिक थामियो । उहाँ बैकतिर लाग्नुभयो । लगभग एकघण्टा नबित्दै बैँकबाट फर्किएपछि अफिसको काम गर्न थाल्नुभयो । काम गर्दागर्दै केही समयपछि जाडो लाग्यो भनेर ब्ल्याङ्केट ओढेर सुत्नुभयो । ब्ल्याङ्केटले पनि नभएर थन्क्याएको सिरक झिकेर खप्टनु भो ।

साँझमा ज्वरो नाप्दा १०१ ज्वरो रहेछ । सिटामोल खान दिएँ । सामान्य भाईरल/फ्लु होला भन्ने लाग्यो । म अलग्गै बस्छु भन्दै हुनुहुन्थ्यो । मैले नै त्यस्तो केही होईन होला आज हेरौँ भने, त्यस रातसँगै बसियो । बच्चाहरूलाई भने केही सतर्क गराएँ । अर्को दिनदेखि त जीउ दुख्ने, शरीर घोच्ने, टाउको बेस्सरी दुख्ने, पिँडुला करकर खाने हुन थाल्यो । दुबै पिँडुलामा ब्याण्डेज बाँधेर बस्न थाल्नु भो । नआत्तिनुस् केही हुँदैन यो रुघाखोकीले होला भन्दै सम्झाएँ । हामी अलिक सतर्क भयौँ । सानो बाबु र नानीलाई अलग्गै बस्न लगाएँ ।

तेस्रो दिन
उहाँले अफिसको एक जना साथीलाई फोन गरेर, लक्षणहरू बताउनु भयो । साथी (अञ्जन अर्याल) ले लक्षण सबै मिलेकोले तपाईँलाई कोरोना नै हो भनेर केही सल्लाह दिनु भएछ । त्यसपछि झनझन गाह्रो हुँदै गयो के गर्ने के ? पिसिआर चेक गर्न जाने कि नजाने अन्यौल भईरहेको थियो । त्यसै बेलुका अफिसको अर्कोजना साथी (अनन्त रेग्मी) सरले फोन गर्नु भयो । उहाँले पिसिआर चेक गर्न जानुस्, हामीलाई किन जानकारी नगराउनु भएको भन्नु भएछ । त्यसपछि उहाँ (श्रीमान्) ले रञ्जीत आचार्य सरलाई फोन गरेर जानकारी गराउनु भयो । रञ्जीत सरले केही भिटामिन र औषधिहरूको नाम एसएमएस गरेर पठाई दिनु भयो । कोरोना नहोस् भन्ने कामना गर्दै मैले सबै औषधिहरू ल्याएर खान दिएँ । त्यतिबेलासम्म मलाई पनि गाह्रो भईसकेको थियो । टाउको दुखिरहेको थियो । छोरीलाई पनि ज्वरो आईसकेको थियो । त्यसबेला चाहिँ धेरै नै डर लागिरहेको थियो । हामी बुझ्नेहरू त यस्तो भयो भनेर थाहा पाउँथ्यौ र सावधानी अपनाउँथ्यौँ, औषधि खान्थ्यौ तर ४ वर्ष पनि नपुगेको सानो बाबु ऊ केही बुझ्दैन थियो । सानासाना जो नुबुझ्नेहरू छन् तिनलाई चाहिँ जोगाउन पाए हुन्थ्यो, केही नभई दिए हुन्थ्यो भन्ने लागिरह्यो ।

बेलुका छोरीलाई जीउभरी डाबर आयो । खाना खाएपछि बान्ता पनि भयो । त्यसपछि झनबढी तनाब भयो । छोरीलाई पनि भिटामिन, जिङचक्की र सिटामोल खान दिएर सुत्न लगाएँ । रातभरी निद्रा परेन । राती दुई तिन पल्ट उठेर उहाँलाई हेरेँ छटपटाई रहनु भएको थियो । आफूलाई पनि गाह्रो भईरहेको थियो । टाउको र छातीमा भिक्स लगाएँ, उहाँलाई पनि लगाई दिएँ । उहाँ दुबै खुट्टामा ब्याण्डेज बाँधेर सुत्नु भएको थियो । अर्कोपट्टी साना दुई छाराछोरी सुतिरहेका थिए । उनीहरुलाई परैबाट चियाएँ । अर्को कोठामा सुतेकी छोरीलाई पनि के भयो भनेर रातीनै उठेर हेरेँ । ऊ पनि निधाएकी रहिछ । अलिक सन्तोक भयो । छोरीलाई ढोका खुल्लै राखेर सुत्न लगाएका थियौँ । छटपटीमै रात बित्यो । विहान ५ बजेनै उठेर सकिनसकी कोदोको खोले बनाएँ । ६ बजेतिर सबैलाई कोदोको खोले खान दिएँ । उभिन हिड्न पनि गाह्रो भईरहेको थियो । टाउको उठाउनै नहुनेगरी दुखेको थियो, शरीर फतक्कै गलेको थियो । अव के गर्ने होला ! अन्यौल भईरहेको थियो । चेकजाँच गर्न हस्पिटल जाउँ भने हस्पिटलमै हाहाकार थियो । कतै ठाउँ/बेड छैनन् भन्ने विभिन्न सञ्चार माध्यमबाट सुनिरहेकी थिएँ । हस्पिटलनै जानु पर्ने भयो भने के गर्ने होला । एकदमै अन्यौल र तनाब भईरहेको थियो । आफूलाई गाह्रो हुँदाहुँदै पनि म पसल जान्छु भने, उहाँले जानु पर्दैन भनेपछि फेरि त्यसै पल्टिएँ ।

१० बजेतिर गेडागुडीको सुप र अलिकति खाना पकाएँ । साना नानीहरुलाई अर्को कोठामा आफैँ लगिदिएँ । हामीले पनि बल गरेर थोरै खाना र रस पियौँ । त्यसपछि उहाँले पिसिआर टेस्टका लागि जाने भन्नु भयो । म पनि सँगै जान्छु भने, उहाँले पर्दैन म मात्रै जान्छु । मेरो रिपोर्ट आएपछि मात्र अरूको गरौँला भनेर जानुभयो । नआउन्जेल केही भयो कि भन्ने डर लागि रह्यो ।

आएपछि पनि रिपोर्ट के आउने होला भन्ने चिन्ता लाग्न थाल्यो । रिपोर्ट नेगेटिभ नै आई दिए हुन्थ्यो भन्ने भईरहेको थियो । बेलुका हल्का गेडागुडी मिसाएर बनाएको पातलो जाउलो सबैले अलिअलि खायौँ । सबैलाई औषधि खुवाएँ र मैले पनि खाएँ । राती ११-१२ बजेसम्म निधाउन सकेकी थिइन । उहाँ त कहिले उठ्ने कहिले सुत्ने गर्दै छटपटाई रहनु भएको थियो । त्यसपछि मलाई चाहिँ अलि सन्चो भयो निधाएँ । सपनामा पनि बेस्सरी टाउको दुखेको रहेछ । आदरणीय गुरुदेव डा.योगी विकाशानन्दज्यूले मेरो टाउकोमा तीनओटा पेचकसले कसीदिनुभयो, म त सपनामै मलाई सन्चो भयो भन्दै रहिछु । विकाशानन्दले मलाई अघिनै भनेको भए अझ कसी दिन्थेँ भन्दै हुनुहुन्थ्यो ।

म ब्यूझिएँछु । चार बज्न लागेको रहेछ । उठेर केही समय ध्यान गरेँ । टाउको अलि हल्का महशुस भईरहेको थियो । सबैजना सुतिरहेकोले म पनि फेरि त्यसै बिस्तारामा पल्टिएँ ।

केही समय अगाडिदेखि म गुरु विकाशानन्दको प्रवचन सुन्ने र ध्यान साधना गरिरहन्थेँ । उहाँ (श्रीमान) बिमारी हुनु केही दिन अगाडिको एक विहान म ध्यान गरिरहेकी थिएँ । उहाँ (श्रीमान) पसलमा हुनुहुन्थ्यो, म ध्यानमा बसिरहेकै बेला पसलमै ढलेको देखेँ । ध्यानबाट बाहिर आएर अतालिँदै पसलतिर दौडिएँ । पसलमा पुग्दा उहाँ ग्राहकलाई सामान दिईरहनु भएको थियो । आश्चर्य मान्दै म पुनः फर्किएँ र ध्यानमा बसेँ । निकै पछिसम्म के भएको होला यस्तो भन्ने लागिरह्यो । त्यसको तीन दिन पछिनै श्रीमान बिमारी हुनुभयो ।

अहिले गुरु विकाशानन्दलाई सम्झेर प्रार्थना गरिरहेकी छु । बिमारी भएकै समयमा पनि सकिनसकी ध्यान, योग गरिरहेका छौँ । फोक्सोलाई दह्रो बनाउने योग प्राणयाम गरिरहेका छौँ । प्रवचन सुनिरहेका छौँ । गुरुप्रति हार्दिक नमन गर्न चाहन्छु ।

साँझ ४ः३० तिर मोवाईलमा कोरोना पोजेटिभको मेसेज आयो । अनि पो झन पिर थपियो । ठूली छोरी झन सिरियस भईरहेकी थिई । म पनि पूरै गलिसकेकी थिएँ । शरीर उठ्नै नसक्ने भएको थियो । चिन्तामाथि चिन्ता बढ्दै गयो । आफ्नो भन्दा अरुको बढी चिन्ता लाग्न थाल्यो । तर चिन्तालाई भित्रै दबाएर केही हुँदैन भन्ने आत्मवल बढाई रहयौँ । म सानासाना दूईटा नानी बाबुलाई चाहिँ केही नहोस् है भन्दै कामना गर्न थालेँ । दुई साना नानीबाबुहरू अघिल्लै दिनदेखि अलग्गै थिए । घर परिवार र नातानाला कसैलाई सुनाएकै थिएन । बुबा पनि ज्वरोले थलिनु भएको थियो । घरमा सासुआमा पनि बिरामी भएकोले घर परिवारतिर पनि कसैलाई सुनाउन मन लागेन । काकाहरू लगायत सबैलाई तनाब होला भनेर सुनाएनौँ ।

अर्को दिनदेखि अलिअलि गर्दै सबैतिर थाहा हुन थाल्यो । लगालग फोन र मेसेज आउन थाल्यो । ठूलाठूला हामी तीनै जना थला प¥यौँ । कसैको फोन आउँदा पनि नआए पनि हुने जस्तो लाग्थ्यो । शरीरको शिथिलताले गर्दा खाना पकाउन, खान नपरे पनि हुन्थ्यो भन्ने लाग्न थालेको थियो । मरीतरी जसले सक्यो उसैले पकाउँने गर्न थाल्यौँ । तरकारी र फलफूल लगायतका सामानहरू बुहारी जिनाले गेटसम्म ल्याई दिन्थिन् । नजिकमा बुहारी भएकोले पनि धेरै सजिलो भयो । अर्को दिन छिमेकी भाइ राजेन्द्र दंगालले आफूले पाली राखेको लोकल कुखुरा आफैँले बनाएर ल्याई दिनु भएछ । त्यसैको सुप बनाएर सबैले खायौँ । अप्ठ्यारोमा सहयोग गर्नु भएकोमा भाइ राजेन्द्र र बुहारी जिनालाई हृदयदेखिनै धन्यवाद दिन चाहन्छु ।

धेरै दिन त्यस्तै चिन्ता, छटपटी र अन्यौलमै बित्यो । तर पनि हामी कहिल्यै निराश भएनौँ । सकेसम्म हाँसखेलमै दिन कटायौँ । कहिले दोहोरी गायौँ । कहिले नाच्यौँ, गायौँ खेल्यौँ । जे होस् हामीले धेरै अप्ठ्यारोलाई चिरीसक्यौँ । संकटलाई खेपिसक्यौँ । अव फेरि त्यो दिन नदोहोरियोस् भन्ने कामना छ ।

अव त १२ १३ दिन बितिसकेको छ । हामीले असुरक्षित समय पार गरिसकेका छौँ । दुई साना नानीबाबुलाई पनि सुरक्षित राख्न सक्यौँ भनेर केही ढुक्क भएको वेला एउटा अकल्पनीय घटना सुन्नु प¥यो । सानै कक्षादेखि मेरो श्रीमानसँगै अध्ययन गर्नु भएको एकजना साथी हरि कटवालको कोरोनाका कारण निधन भयो भन्ने खबर आएपछि फेरि केही समय उहाँले धेरै तनाब लिनु भयो । अर्को दिनदेखि बिस्तारै कन्ट्रोल हुँदै गयो ।

कोरोना लाग्यो भनेर कोही नआत्तिऔँ, खानपिन राम्रो सँग गरौँ । मनतातो पानी प्रशस्त पिउँ । ध्यान, योग, प्राणायाम गरौँ । भिटामिन, प्रोटिन मिलाएर खाउँँ । आत्मवल बलियो बनाउँ, सकारात्मक शोच राखौँ । कोरोना जितिन्छ । तर त्यसो भन्दैमा यो केही होईन भनेर हेलचेक्र्याईँ नगरौँ । जसलाई जतिबेला जे पनि हुन सक्छ । परिवारमा कसैलाई कोरोना पोजेटिभ भई गयो भने छिछि र दूरदूर हैन माया, हौसला र हिम्मत दिउँ । यदि परिवारमा सबैलाई भईगयो भने पनि नआत्तिऊँ । स्वास्थ्यका विभिन्न मापदण्ड, नियम छन् तिनको पूर्र्ण पालना गरौँ ।

म पनि नियमित औषधि सेवन गरिरहने प्रेशरको रोगी हुँ । नियमित औषधि सेवन गर्ने दीर्घ रोगीका लागि त यो रोग झनै चुनौतीपूर्ण हुन्छ भन्ने सुनेकी थिएँ । त्यसले पनि झन मानसिक पीडा थपिएको थियो । तर पनि खानपान, प्राणायाम, योग, ध्यान, साधनाले त्यसलाई परास्त गर्न खोजिरहेकी छु । १२ हात पुगेर बित्तामा पक्कै हारिँदैन होला ।

ज-जसले महामारीको चपेटामा परेर अपराधी भाईरसलाई जित्नु भो सबैलाई सुस्वास्थ्य, दीर्घायु र उत्तरोतर प्रगतिको कामना ।

जसलाई पापिष्ठ कोरोनाले हरायो उहाँहरूको आत्माको चिर शान्तिको कामना, सबैलाई भावपूर्ण श्रद्धाञ्जली र परिवारमा गहिरो समवेदना प्रकट गर्दछु ।

जो अहिलेसम्म लडिरहनुभएको छ, उहाँहरूको सिघ्र र पूर्ण स्वास्थ्य लाभको कामना गर्दछु ।

टिप्पणिहरु
Loading...