Admission Open

नेपालको राष्ट्रिय पोसाक नेपालीहरूको विशिष्ट पहिचान हो

विचार

# दीर्घराज प्रसाईं

अंग्रजी साम्राज्यको प्रभावमा नपरेका संसारका कुनै पनि सार्वभौम राष्ट्रहरुले आ–आफ्नो पहिरन, पहिचान, भाषा, प्रचलीत संवत् र परिचय बचाएर राखेका छन् । नेपालको राष्ट्रिय पोसाक नेपालको पहिचान र सम्पदाको रुपमा लिइन्छ । दौरा –सुरवाल टोपी नेपालका राष्ट्रिय सम्पदा हुन् । भेष–भूषालाई राष्ट्रको सांस्कृतिक अंङ्गको रुपमा लिइन्छ । नेपालको राष्ट्रिय पोसाकको आफ्नैं पहिचान र महत्व छ । नेपाली संस्कृतिको पुर्वाधार वैदिककालदेखि नैं अभिपे्ररित छ । विक्रम संवत् भन्दा एकहजार वर्षपूर्व हाम्रा भेषहरूको विकास भइआएको पाइन्छ । लोग्ने मान्छेले लगाउने भोटो, दौरा, सुरुवाल टोपी र स्वस्नीमान्छेले लगाउने ठूलो सारी, चोलो स्त्री–पुरुष दुबैले लगाइएको पाइन्छ । नेपाली पोसाकको विषयमा अमरकोषमा पनि वर्णन गरिएको छ । नेपाली भेषहरू सांस्कृतिक आधारमा बनेकोले हर–नेपालीले हाम्रो पहिचानलाई स्वदेश विदेशमा ब्यापक बनाउन गौरव ठान्छन् ।

टोपीको माथिल्लो भाग सगरमाथा स्वरुपको हिमालयको प्रतीक भादगाँउले टोपी र विभिन्न बुटाका आकर्षक टोपीहरूको महत्व विश्वभरमा चिनिएको छ ।

 

हो, नेपालका विभिन्न क्षेत्रमा अनेकौँ जाती जनजाती, संस्कृति परम्परा, सामाजिक मान्यता छन् । भौगोलिक अवस्थिति र जलवायुको हिसावले टोपी, दौरा–सुरुवालको प्रयोग हिमालक्षेत्रमा र तराईक्षेत्रमा अलग किसिमले हुन हुन सक्छ । त्यसको लागि आ–आफ्नै आवश्यकता र परम्परागत भेषभूषालाई ग्रहण गरिनुलाई बेठीक भन्न मिल्दैन । यी सबै पहिरनहरू नेपालका सम्पत्ति हुन् । हाम्रा विभिन्न पहिरन र पोसाकहरूलाई आवश्यकताअनुसार खुसीकासाथ प्रयोग गरिनु पर्छ ।

संसदको हकमा भन्नुपर्दा त्यहाँ नेपाल अधिराज्यभरका विभिन्न जातजाति तथा सांस्कृतिक पहिचान बोकेका जनप्रतिनिधिहरूको उपस्थिति रहेको हुन्छ । अत संसद एक राष्ट्रिय विधायक भएकाले त्यसको औपचारिक कार्यक्रम बाहेक दैनिक उपस्थितिमा विविध स्वरुपमा विभिन्न जाती जनजातीका पहिरन लगाएर इच्छुक जनप्रतिनिधिहरूले प्रतिनिधित्व गर्नका लागि राज्यले नैं वैधानिकता दिन सक्छ । तर आफूखुसी विदेशी सर्ट–पाइन्ट, लुङ्गी, कुर्था–पाइजामाहरू जस्ता पोसाक लगाएर औपचारिक कार्यक्रमहरूमा जाने धृष्टता गर्नु भनेको आफ्नै अपमान हो । तर स्वदेश विदेशमा हुने राष्ट्रिय औपचारिक कार्यक्रमहरूमा टोपी, दौरा–सुरुवाललाई ग्रहण गरेर नेपालको पहिचान प्रस्तुत गर्न सक्नु सबैका लागि गौरवको कुरा हो । नेपाली राष्ट्रिय पोसाकको महत्व र परम्परालाई अध्ययन नैं नगरी विवादमा पार्न खोजिएको कुरालाई राम्रो मानिदैन ।

नेपालको मौलिक राष्ट्रिय पोसाक र भेषको महत्व राष्ट्रसंघको सम्मेलनमा पनि चर्चित छ । हाम्रो राष्ट्रका उच्च पदाधिकारीहरूबाट देशको इच्जतका लागि औपचारिक कार्यक्रममा राष्ट्रिय पोसाकको महत्वलाई अङ्गिकार गर्दै यसको मौलिकतालाई ब्यापक रुपमा प्रस्तुतगर्दै आएका छन् । हाम्रा कलात्मक दौरा सुरुवालमा चिटिक्क सजिएको राष्ट्रिय झण्डाको अंश बोकेको कोट र सगरमाथाको चिन्ह स्वरुप झल्काउने टोपी नेपाली राष्ट्रियताको गरिमा हो । माओवादी नेताहरू प्रचण्ड र बाबुराम भट्टराईहरूले प्रधानमन्त्रीको सपथग्रहण कार्यक्रममा राष्ट्रिय पोसाक ग्रहण गरेको भए र तराईका केही मधेसी नेताहरूले औपचारिक कार्यक्रममा राष्ट्रिय पोसाक ग्रहण गरेको अवस्थामा उनीहरूको प्रतिष्ठा अरू बढ्थ्यो, घट्दैन थियो । अन्तर्राष्ट्रिय रङ्गमञ्चमा रङ्गिचङ्गी जातीय पोसाक र स्थानीय जातीय भाषालाई उभ्याएर मदसी नेता जयप्रकाश गुप्ता, विजय गच्छेदार, महन्त ठाकुरहरू एउटा कार्टुनको रुपमा चिनिएलान् तर राष्ट्रभाषा र राष्ट्रिय पोसाकको प्रस्तुतिले उनीहरूको छविमा अर्को आकर्षण देखिन्छ ।

पृथ्वीनारायण शाह र दामोदर पाण्डेले प्रयोग गरेको पोसाकमा लवेदाको विस्तृत स्वरुप झल्कन्छ । पृथ्वीनारायण शाहबाट प्रयोग गरिएको लवेदा सुरुवालमध्ये सुरुवालको मोहोता केही ठूलो भए तापनि अहिलेसम्म केही परिस्कृत हुँदै आएको छ । कोट बाहेक टोपी, दौरा, सुरुवाल लगायत सबै पोसाकहरूमा अरु कसैको अनुकरण गरिएको पाइदैन । विक्रम संवत् १८०० तिर पृथ्वीनारायण शाहका राजगुरु रङ्गनाथका दौरा सुरुवालका परिस्कृत पोसाक नेपाल म्यूजियममा देख्न सकिन्छ । गोर्खाका तत्कालीन पोसाकहरू निहाल्दा त्यो भन्दा पहिला उपत्यकाबाहिर सेनवंशी, बाइसी, चौबिसी, साना राज्यका जनता लगायत, बाहुन, क्षेत्री, लिम्बु, राई, मगर, तामाङ आदि जातजातिहरूले पनि टोपी, दौरा–सुरुवाल प्रयोग गरिआएका थिए । संस्कृतिविद गेहेन्द्रमान अमात्य लेख्छन्– ‘राष्ट्रिय पोसाक पृथ्वीनारायण शाह र पञ्चायती व्यवस्थाले ल्याएको होइन । हजारौं बर्षदेखि चलिआएको र बीचबीचमा थपिँदै आएको पोसाक हो । यो बहुजातीय संमिश्रण पोसाक हो । जङ्गबहादुर दौरा सुरुवाल पटुकाको राष्ट्रिय पोसाकमा बेलायत जाँदा जाडोले थरथर कामेको देखेर अंग्रेजले आफ्नो जगेडा कोट लगाई दिए । दौरा सुरुवाल माथि कोट अत्यन्त सुहाएकाले उनको टोलीका सबै सदस्यहरूले दौरा सुरुवालमाथि कोट लगाई नेपाल फर्केको र सबै भाइभारदारहरूलाई लगाउन लगाएको थियो । पछि वीर शमसेरले कोट सहितको दौरा–सुरुवाललाई राष्ट्रिय पोसाक घोषणा गरेका हुन् ।’

तर बितेको १३ वर्षदेखि नेपालको पहिचान जोगाउन हम्मेहम्हे हुन थालेको छ । नेपालीहरूको रुप–रङ्ग, बोली र भाषा नेपाली देखिए तापनि कतिपय औपचारिक समारोह तथा समाचार प्रस्तोताहरूले हर टीभीहरूमा सुट्–टाईमा सजिएर बोलेका हुन्छन् । टीभीहरूमा नेपाली अन्तरर्वार्ता हेर्दा नेपाली राजनीतिककर्मी तथा कहलएिका विद्वानहरू पनि सबै एकसेएक अंग्रेजी भेषमा देखिन्छन् । कतिले टोपी लगाएर टाई बाँधेका हुन्छन् । समाचार बाचकहरू नेपाली भाषा बोल्छन् तर अंग्रेजी भेषमा देखिन्छन् । यो हेर्दा कुनै विदेशीले नेपाली भाषामा समाचार पढिरहेको जस्तो लाग्छ । औपचारिक कार्यक्रम तथा टीभीहरूमा नेपाली पोसाक पहिरिएर नेपाली भनेर बाहिरी संसारलाई चिनाउन हामी किन खोजिरहेका छैनौं ? राष्ट्रिय पोसाकले आफ्नो देशको प्रतिनिधित्व गराउँछ भन्ने कुरा हामी नेपालीहरूले बिर्सनु हुन्न । तर कतिपयले भन्ने गर्छन् कि टोपी, दौरा, सुरुवाल र कोट, सारी चोलीले नेपालको पहिचानको प्रतिनिधित्व गर्दैन । कतिपयका भनाइमा लागेर आज स्कूलका विद्यार्थीहरूलाई टाई अनिवार्य बाँध्न लगाएर देशका भावी पुस्ताहरूलाई आ–आफ्ना पहिचानहरूबाट विमुख बनाउन खोजिँदैछ । विद्यालयहरूमा केटीहरूलाई समेतलाई टाई अनिवार्य गराइएको देख्दा हामी अन्धकार भविष्यको कल्पना गरिरहेका छौं भन्ने लाग्छ ।

 

अंग्रेजी साम्राज्यको बिरोधमा भारतमा आफ्नै धोती, कुर्ता, ग्याम्चा, गान्धी टोपी पहिरिन्छन् तर अंग्रेजी भाषालाई सरकारी भाषा बनाएका छन् । चीनमा बेलायती साम्राज्यको बिरोधमा अंगे्रजी भाषालाई त्यागे र चीनिया भाषालाई राष्ट्रभाषा बनाए । तर अंग्रजी साम्राज्यको प्रभावले चीनमा अंगे्रजी पहिचान– सुट्–टाईले निरन्तरता पाइृरह्यो । सुट टाई चीनियाहरू राष्ट्रिय भेष बनाए भने भारतले अंग्रेजी भाषालाई सरकारी लेखापढीको भाषा र ईस्वी संवत्लाई राष्ट्रिय संवत् बनायो । नेपालमा विक्रम संवत् एतिहासको प्रारम्भदेखि अहिलेसम्म राष्ट्रिय संवत्को रुपमा चलिआएको छ । नेपाल कहिले पनि साम्राज्यवादीको कब्जामा परेन भन्ने प्रमाण हो– नेपालको राष्ट्रिय पोसाक, विक्रम संवत् र नेपाली भाषा । भारत, चीनमा जस्तो साम्राज्यवादी शक्तिले नेपालमाथि प्रभाव जमाउन नसकेकाले हाम्रो राष्ट्रिय पोसाक, पहिरन, नेपाली भाषा र विक्रम संवत् यथावत रहिरह्यो । तर यसलाई हामी नेपालीहरूले नै जानेर वा नजानेर ८।१० वर्ष यता विस्थापित गर्न खोज्दैछौं । नेपालले सबै जातिको सम्पर्क भाषाको रुपमा नेपालीभाषा, राष्ट्रिय पोसाक, राष्ट्रिय संवत्, हिन्दुअधिराज्य तथा बौद्धधर्मलाई टेवा दिँदै आफ्नो सार्वभौम पहिचान कायम राख्न अडिक रहिआए तापनि हामीले नेपालको पहिचान र पहिरनलाई बुझ्न नसकेको जस्तो भइरहेको छ । कहीं कसैको विवाह भोज, भतेरमा गएको समयमा त केही छैन तर औपचारिक कार्यक्रम तथा सरकारी कार्यालयहरूमा पनि ठाँटसित टोपी लगाएर टाई बाधेको देखिन्छ । यसले गर्दा हामी नेपालीहरू आफैँ जोकर जस्तो बन्दै त छैनौ ? यसले गर्दा हामी कुन देशको राष्ट्रियतालाई स्थापित गरिरहेका छौं भन्ने कुरा हामीले सोच्ने बेला आएको छ । अदालतमा न्यायधीसहरू राष्ट्रिय पोसाकमा दखिन्छन् तर कतिपय अधिवक्ताहरू टाई बाँधेर बेन्चमा बसेका देखिन्छन् ।

पूर्व सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले टाईलाई आफ्नो पहिचान बनाएका छन् । जहाँ पुग्दा पनि उनले टाई भिरेका हुन्छन् । पण्डितजीका अधिकांश कार्यहरू मन परिरहे तापनि उनी जस्तो राष्ट्रवादीले यसरी सरकारी कार्यालय, औपचारिक समारोह र संचार माध्यमहरूमा टाईलाई देखाउनु हुँदैनथ्यो । मैले उहाँलाई एक भेटमा सुझाव पनि दिएँ–‘तपाईँले धेरैलाई सुझाव दिनुहुन्छ, म तपाईँलाई एउटा सुझाव दिन्छु– कृपया अरूबेलामा टाई बाँधे पनि सरकारी कार्यालयमा टाई नबाध्नुहोस् ।’ यसरी मन्त्रालयका मन्त्री, सचिव, महानिर्देशकहरू पनि सबैले आफूलाई सुट–टाई बाँधेर सजिएकोमा आफूहरूलाई सभ्य ठान्दा हुन् तर यसरी अर्धाङ्गी बनेर सरकारी कार्यालयहरूमा उपस्थिति हुने परम्परा कायम रहिरहने हो भने यसको परिणाम निश्चय पनि नेपालको लागि राम्रो हुने छैन ।

तराईको व्यक्ति होस् वा हिमाली भेगका बासिन्दा हुन्, उनीहरूले चौबिसै घण्टा नेपाली पहिरन गलाउने भनेको होईन । आफ्नो जातीय र मौसमअनुसारका पहिरन हामीले जुनसुकै बेलामा प्रयोग गरे तापनि स्वदेश–विदेशका औपचारिक कार्यक्रम, सार्वजनिक समारोह तथा संचार माध्यमहरूमा नेपाली राष्ट्रिय पोसाक पहिरिएमा हामीलाई कुन कुराको अप्ठयारो पर्छ ? आफ्नो पहिचान जोगाउन हामीले केही अप्ठयारो मान्नु पनि त हुँदैन । राष्ट्रिय भेष भनेको हाम्रो मौलिकता हो नि होईन र ?

५२ वर्ष अगाडिको मेरो चिन्तनका बारेमा यहाँहरूको ध्यानआकर्षण गराउन चहन्छु । २०२४ सालमा प्रतिभा’ नामक १०० पृष्ठको निवन्ध संग्रह लेखें त्यसलाई रत्न पुस्तक भण्डारले २०२५ सालमा प्रकाशित गरेको थियो । त्यस पुस्तकमा मैले लेखेको छु– ‘हाईहाई क्रिस्चियन टाई !’ मैले उक्त पुस्तकमा ‘मानवताको परिभाषा दिने बुद्ध जस्ता हुन् क्राईष्ट । बुद्ध मरे स्वभावैले कुशीनगरमा । क्राईष्ट मारिए कठोरसित । मारिएको दुःखबाट मानवीय चेतनामा हलचल आयो, ईशुक्राइष्ट अमर शहीद बने । ईशुलाई मारियो । निरंकुश, निरंकुश शासनको डरले मानिसहरू लुक्दै छिप्दै क्रिस्चियन सोसाइटी खडा गरे । ईशुलाई झुण्डयाएर मारेको हुँदा सारा क्रिस्चियनले पनि झुण्डिएको प्रतीक क्रिस्चियनहरूले इशुको सम्झनामा नेक टाई बाँध्न प¥यो । न ता यसले जाडो छेल्छ, देखाउँछ खाली इशुको सझनाको आस्था । अंग्रेजी साम्राज्यले गर्दा अंग्रजी भाषा, अंग्रेजी लुगा अन्तर्राष्ट्रिय भयो अनि टाई पनि । अव पश्चिमाहरू विश्वको एक मात्र हिन्दु अधिराज्यलाई विस्थापित गराएर नेपाललाई इसाईकरण गर्न चहन्छन् । हामी नेपालीहरूले पहिचानलाई बचाऔं भन्ने मात्र आग्रह हो ।

हाम्रा पहिरन र राष्ट्रिय पोसाकको विषयमा कतिले यस्ता कुराको खण्डन गर्दै– पहिरनले राष्ट्रियता चिनाउँदैन पनि भन्छन् । यस्ता भ्रांमक कुराको छिनोफानो समयमा नैं गरिएन भने भोलि नेपाली पहिरन लोप भएर संग्राहलयमा मात्र देख्न सकिन्छ । यस विषयमा सरकारी पक्षले यो विषयमा ठोस निर्णयमा पुगेर प्रधानमन्त्री, मन्त्री, मन्त्रालयका सचिवलगायत अधिकृतहरू लगायत कुन तहसम्मका कर्मचारीहरूले राष्ट्रिय पोसाक लगाउने र नेपाली टोपीलाई चाहिँ अनिवार्य गराउने निणर्य गर्नसक्नु पर्छ । दुःखको कुरा हो– माओवादीका नेता बाबुराम भट्टराई प्रधानमन्त्री बनेको १० दिन नपुग्दै नेपालको राष्ट्रिय पोसाक–दौरा–सुरुवाल टोपीलाई राष्ट्रिय पोसाक नमान्ने र आफूखुसी जो जस्ले जस्तो पोसाक लगाउँछ त्यही राष्ट्रिय पोसाक हो भन्ने हचुवा निर्णय गरेर नेपालको राष्ट्रिय मूल्य–मान्यता र पहिचान अन्योलग्रस्त बनेको छ । ८।९ वर्षअगाडि यिनै विजय गच्छेदार, महन्त ठाकुर, जयप्रकाश गुप्ताहरू लगायत तराईबासीहरूले राष्ट्रिय र अन्तर्राष्ट्रिय औपचारिक कार्यक्रमहरूमा दौरा–सुरुवाल टोपी लगाएर उपस्थित भएको जुन इज्जत थियो, अव के धोती, कुर्ता वा लुङ्गी लगाएर, स्वदेशी विदेशी औपचारिक कार्यक्रमहरूमा सहभागी हुँदा, उनीहरूले त्यही इज्जत पाउन सक्तैनन् ।

तराई र हिमाली क्षेत्रमा सजिलोका लागि कही धोती, लुङ्गी, कमेज र बख्खु आदि लगाउने अवस्था आए तापनि दौरा, सुरुवाल, कोट, टोपी सबैतिर बाहै्र महिना प्रयोगमा असजिलो होला तर कुनैपनि औपचारिक कार्यक्रममा राष्ट्रिय पोसाक सबैका लागि प्रतिष्ठाको विषय बनेकोछ र बन्नुपर्छ । नेपालीहरूलाई आफ्नै देशको भेष चाहिन्छ । राष्ट्रिय मौलिक भेषले नेपालीहरूको पहिचान खुलेको छ । दार्जेलिङमा त नेपाली पोषाक लगाउने सबै नरनारीहरूमा लहर नैं आएको छ । नापी विशेषज्ञ वुद्धिनारायण श्रेष्ठ लेख्छन्– राष्ट्रिय पोसाक भनेको राष्ट्रिय औपचारिक समारोहमा लगाउनु पर्ने पोसाक हो । राष्ट्रप्रमुख तथा सरकार प्रमुखको औपचारिक वा राजकीय भ्रमणमा आफ्नो राष्ट्रको इज्जतको लागि राष्ट्रिय पोसाक अनिवार्य हुन्छ । हामी हर–नेपाली स्वदेश विदेशमा जो जहाँ रहन्छौं अरूबेला जुनसुकै पोसाक लगाए तापनि स्वदेश, विदेशका कुनै पनि औपचारिक कार्यक्रमहरूमा राष्ट्रिय पोषाक दौरा–सुरुवाल टोपीलाई सगौरव ग्रहण गर्नु हामी नेपालीहरूको कर्तव्य हो । राष्ट्रिय पहिचानको रुपमा स्थापित आफ्ना पहिचान, मौलिकता भाषा, भेष–भुषा तथा राष्ट्रिय पोसाकलाई हामी कसैले विवादमा ल्याउने काम गर्नु हामी र हाम्रो राष्ट्रको हित बिपरित कुरा हो । हामी कोही जाति, समूह वा पार्टी सत्तासिन भएको अवस्थामा आफ्नो मौलिक पहिचानलाई तोड्ने होइन, जोड्ने कार्य गर्न सक्नुपर्छ । हामी सबै नेपालीहरू स्वदेश विदेश जो जहाँ भएपनि नेपाल र नेपालीको प्रतिष्ठा र स्थापित पहिचान बचाउन प्रतिवद्ध रहौं । यसैमा हाम्रो कल्याण छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...