Admission Open

ad place

गोरखा वेलफेयरद्वारा नगरपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण

व्यास : गोरखा वेलफेयर ट्रष्ट नेपाल/ग्रामीण खानेपानी तथा सरसफाइ कार्यक्रमको तर्फबाट व्यास नगरपालिकालाई स्वास्थ्य सामग्री सहयोग गरिएको छ । नगरपालिकाले कृषि विकास बैङ्कको भवनमा सञ्चालन गरेको आइसोलेशनका लागि उक्त संस्थाले विभिन्न स्वास्थ्य सामग्री सहयोग गरेको हो । उक्त सामग्री वेलफेयर ट्रष्ट नेपाल पोखराका निर्देशक दिपक श्रेष्ठले नगरप्रमुख वैकुण्ठ न्यौपानेलाई हस्तान्तरण गर्नुभएको छ ।

उक्त सामग्री रु एक लाख ३८ हजार मूल्य बराबरको रहेको नगरपालिकाले जनाएको छ । उक्त संस्थाले ३० थान पिपिई, एक सय ५० थान एन९५ मास्क, दुई हजार थान सर्जिकल मास्क, एक हजार थान पञ्जा, ६० थान फेसशिल्ड, पाँच सय मिलिलिटर क्षमताको २० वटा स्यानीटाइजर, पाँच लिटरको चार वटा स्यानीटाइजर, मेडिकल गाउन ५० थान, थर्मल गन दुई थान, गमबुट आठ थान, हाइजिन किट ६० थान, सेफ्टी ज्याकेट ८ थान लगायतका सामग्री सहयोग गरेको नगरपालिकाले जनाएको छ ।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि संस्थाले गरेको सहयोग अतुलनीय रहेको नगरप्रमुख न्यौपानेले बताउनुभयो । कृषि विकास बैङ्कको भवनमा नगरपालिकाले ५० शय्याको आइसोलेशन तयारी गरेको छ । आइसोलेशनमा अक्सिजनको व्यवस्थापन भइसकेको छ ।

आइसोलेशन व्यवस्थापनका लागि नगरपालिकाको स्वास्थ्य शाखाको टिम दिनरात नभनी लागिरहेको छ । आइसोलेशनमा स्वास्थ्य सामग्रीदेखि अक्सिजन सिलिन्डरसम्मको व्यवस्थापनका लागि स्वास्थ्य शाखा प्रमुख प्रमोद सोती आफै खटिनुभएको छ । नगरवासीको जीवन रक्षा गर्नु दायित्व भएकाले जोखिमको समयमा दिनरात नभनी काम गरिरहेको सोतीले बताउनुभयो । “जोखिम न्यूनीकरणका लागि नगरपालिकाको सिङ्गो टिम एकढिक्का भएर लागिपरेको छ,” उहाँले भन्नुभयो ।

आइसोलेशनमा २५ थान अक्सिजन सिलिन्डर पनि ल्याइसकिएको छ । “अक्सिजन सिलिन्डरमा रेगुलेटर फिट गर्ने र स्वास्थ्यका सामग्री आइसोलेशन कक्ष ल्याउन बाँकी छ,” उहाँले भन्नुभयो । नगरपालिकाले आइसोलेशनका लागि एक जना डाक्टर र दुई जना स्वास्थ्यकर्मी नियुक्त गरिसकेको छ । आइसोलेशन कक्षमा डाक्टर र स्वास्थ्यकर्मीका लागि छुट्टै भवनको व्यवस्था गरिएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...