Admission Open

बौलाहा भोक

कथा

#  यम बास्तोला

झण्डै नौ महिनाजति मान्छेको मलमुत्र मिसिएको गन्धेपानी बोकेर बग्ने र दुर्गन्ध फैलाउँने काठमाडौँ उपत्यकाभित्रका नदी/खोलाहरूमा पनि पानी भरीभराउ भएकोले दुर्गन्ध हराएको थियो । सङ्लिनु त परको कुरा धमिलोमै पनि यसरी बग्न पाए काठमाडौँ उपत्यकाका खोलाहरू पनि कत्ति खुसी हुने रहेछन् । नौलिनथानादेखि कपन, नीलोपुल, रातोपुल र सेतोपुल हुँदै बग्ने धोबिखोलो टम्म भरिएर खुसीले उर्लेको देख्दा त्यस्तै आभाष हुन्थ्यो ।

सिमसिमे पानीको पर्वाह नगरी सेतोपुलमुनि रमितेहरूको भिड बढ्दै गएको थियो । पुलमुनिबाट फुसफुस धुवाँ निस्किईरहेको थियो । धुवाँसँगै रौँ जलेको गन्धले वरिपरी सबैको ध्यान खिचिरहेको थियो । परिदृश्यका साक्षीहरू भने हाउभाउसहित पूलमुनिको दृष्यको वर्णन गरेपछि वरपर सुन्नेहरू एकदुई गर्दै रमिता हेर्न धुरिन थालेका थिए । उत्साहित भएर हेर्न गएकाहरू चाहिँ थाथा र थुथु गर्दै निस्किईरहेका थिए । त्यहाँ हेरिनसक्नुको विभत्स दृष्यले जुगुप्सित हुँदै भागिरहेकाहरू भन्दै थिए, “हैट मानिसले त्यतिसम्म पनि गर्दो रहेछ । कसरी सकेको होला कुकुर पोलेर खान !” ।

एउटा अर्धपागल आगो बालेर धमाधम कुकुर पोल्दै, त्यसका रौँ खुर्कँदै थियो । रौँ जलेको कुकुरको मुडुलो टाउको, घुम्रिएका कान र मुखबाट बाहिर निस्किएर टोकिएको लामो जिब्रो देख्दा मानिसहरू अचम्मित मात्र होईन तीन छक्क परेर आङ जुर्काउँदै हिँड्दै थिए । कुकुर पोल्ने मानिस भने कसैको पर्वाह नगरी कुकुरको भुँडी चिरेर आन्द्रा भुँडी निकालेर धोबिखोलामा हुत्याउँदै थियो । त्यो अनौठो र विभत्स दृष्यले असह्य भएर देख्नेमध्ये कसैले पुलिस प्रशासनमा खबर गरेछ । खबर पुगेको केही समयमै सुरक्षाकर्मीसहितको भ्यान आयो ।
देशव्यापी लकडाउनले मानिसहरू भेला हुन निषेध गरेकोले सुरक्षाकर्मीको भ्यान देख्नेबित्तिकै भिड तित्तरबित्तर भयो । बाटो हिँड्ने हरेक मानिस मुख बिगार्दै, माक्समाथि रुमालले गन्ध छेक्दै हिँडिरहेका थिए ।

विश्वव्यापी सरुवा रोगको महामारीले पूरा विश्व आक्रन्त भएको थियो । हरेक देशले आआफ्ना देशका नाका बन्द गर्दै लकडाउनको घोषणा गरेका थिए । नेपालमा पनि लकडाउन गरिएको थियो । स्कुल, कलेज, होटल, रेस्टुरेन्ट, पसल साराका सारा बन्द भएका थिए । विश्वनै घरभित्र थुनिएको थियो । दैनिक ज्यालादारी गरेर खानेहरूको दशा दिनदिनै चुलिँदै गएको थियो । मागेर पेट भर्नेहरूका आन्द्रा सुक्न थालेका थिए । होटल, रेस्टुरेन्ट र भान्साघरबाट फालिएका खानेकुरा खाएर बाँच्ने कुकुरहरू समेत भोकभोकै हुन थालेका थिए ।
भ्यानबाट केही महिला सुरक्षाकर्मीसमेत ६/७ जनाको टोली बाहिर निस्कियो ।

ओई के गरेको त्यो ? एकजनाले भन्यो ।
– केही बोलेन ऊ, खुरुखुरु कुकुरका रौँ खुर्कँदै रह्यो ।
सुरक्षाकर्मीले पुनः साधे, ओई सुनिनस् के गरेको त्यस्तो ?
– उसले कसैको अनुहारतिर नहेरी भन्यो, “मलाई बौलाहा भोक लाग्यो ।
भोक लाग्यो भन्दैमा जे पनि गर्न हुन्छ त ? अलि हप्काएको भावमा एक महिला सुरक्षाकर्मीले भनिन् ।
– उसले पुलुक्क तिनको आँखामा हे¥यो र भन्न थाल्यो, धेरै दिनदेखि केही खान पाएको छैन, कसैले केही खान दिँदैन, म के खाएर बाँचौँ ? मलाई भोकै मर्न मन लागेन ।

भोक लाग्यो भन्दैमा त्यसरी कुकुर पनि खानु हुन्छ त ? फुलीवालाले कड्केर भने ।
त्यो कुराले ऊ निकै रिसाएजस्तो देखियो । उसले आँखा तरेर हेर्दै भन्यो, के खाने त ? खै तिमीहरूले पनि मलाई केही खान दिएनौ । तिमीहरू मात्रै खाने ? तिमीहरू मात्रै बाँच्ने ? के म यो देशको नागरिक हैन ? मलाई पनि तिमीहरूलाई जस्तै भोक लाग्दैन ? मलाई नागरिकता दिनु पर्दैन” ? नागरिकता भएको भए त राहत दिन्थ्यो होला नि मेरो सरकारले ।
उसले नागरिकताको कुरा उठाएपछि सुरक्षाकर्मीहरूले टिपोट गरे नागरिकता नपाएका कारणले यो बहुलाएको हुनुपर्छ ।
किन पाएन नागरिकता ?
कसले दिएन ! एउटा यक्ष प्रश्न खडा भयो ।
उसले अगाडि भन्दै गयो, अरूले छोडेको, फालेको खाँदा पनि कुकुरहरूले खान दिँदैनन् । त्यसैले मलाई खान नदिनेहरूलाई म पोलेर खाई दिन्छु यसैगरी ।
उसले त्यसो भनेर पुनः आगो फुक्न थाल्यो । धिपधिप बलेको आगोमाथि राखेर कुकुरका रौँ पोल्न थाल्यो । फेरि रौँ डढेको दूर्गन्ध वरिपरी फैलियो । हेर्ने र देख्नेहरू थुथु र वाकवाक गर्दै लाखापाखा लाग्न थाले ।
अव के गर्ने सुरक्षाकर्मीहरूलाई अन्योल भयो ।

एकजनाले कोडभाषामा बस्तुस्थिति बताउँदै समस्याको समाधान मागेपछि उसलाई समाएर ल्याउने आदेश आयो क्यारे । उनीहरूले त्यसलाई फकाएर समाउन खोजे तर ऊ सजिलै गिरफ्तार हुन मानेन । पोल्दापोल्दैको कुकुर धोबिखोलामा हुत्याएर ऊ पुलमुनि कुनामा (पूराना कपडाले छेकेर बस्न, सुत्न उसैले उपयोग गरेको ठाउँतिर) घुस्रियो । भुँडी निकालेर खोक्रो भएको कुकुरको लासलाई उर्लिएको धोबिखोलाले बुरुक्कबुरुक्क उफार्दै बगायो । कहिले खुट्टा माथितिर र कहिले तलतिर, उत्तानो–घोप्टे हुँदै बग्दै निकै तलतिरसम्म पुग्यो र अलप भयो ।
केहीछिनमै कोरोनाको जोखिम मोलेर सुरक्षाकर्मीहरुले त्यस मानिसलाई जबर्जजस्ती समातेर भ्यानभित्र हुले ।
झमझम पानी परिरहेकै थियो । ठाउँठाउँमा बाढी र पहिरोले थुप्रै मानिसहरूको विचल्ली बनाएको थियो । घर डुवानमा परेकाले कति मानिसहरू घरबार विहीन भएका थिए । एकातिर मानिसहरू बाढी पहिरोले हताहतभएपछि थुपै्रले आफन्त गुमाएका थिए भने अर्कातिर विश्वब्यापी महामारी कोरोना (कोभिड १९) ले मानिसको बिचल्ली बनाएको थियो । देशभरबाट आएका अनेकानेक कहालीलाग्दा घटनाहरूले मिडियाहरूलाई सक्रिय बनाएको थियो भने तारन्तार आईरहेका खबरहरूले सञ्चारका साधनहरुलाई पनि व्यस्त बनाएको थियो । देशभरको जनजीवन कष्टकर भएको थियो । अत्यावश्यक काम र बिरामी परेर उपचारका लागि काठमाडौँ छिर्न लागेकाहरु बाटो भत्किएरका कारण बाटोमै अलपत्र परेका थिए ।

वर्षभरि जमिनमुनि गुम्सिएर वर्षाले कमलो भएको देवलबाट निस्किएका छिचिमिरा जसरी यता र उता भौतारिने मानिसहरू सबै घरभित्रै थुनिएका थिए । गुलियो भेटेर दौडिएका घिउकमिलाझैँ लस्कर लागेर दोहोरीलत्त दौडिने सवारी साधनहरु लकडाउनका कारण लुप्त थिए । सडकहरू बढारेको आगन जस्ता सुकिला र पूर्ण सुनशान भएका थिए । सधैँ थिचिइरहने, किचिइ रहने अति व्यस्त सहरका कालोपत्रे सडकहरू पाहुनाको ओछ्यानजस्तो शान्त भएका थिए । शिवरात्रीमा तीर्थाटन गर्न आएका, शरीरभरि खरानी घसेर नसामा झुमिरहेका नागाबाबाहरूझैँ देखिने धुले सडकछेउका रुखहरू पनि रिसोर्टमा दिनहुँ पखालिएका रबरप्लान्टजस्ता सुकिला देखिन्थे । हरेक चोक र गल्लीहरू, जहाँ मानिसहरूको भिडले सामान्य मानिसलाई बाटो हिँड्न मुस्किल हुने ठाउँहरू पनि खुल्लमखुल्ला थिए ।
वातावरण एकदम स्वच्छ र हराभरा भएको थियो ।
कुकुर पोल्ने त्यस मानिसलाई हिरासतमा पु¥याएपछि सुरक्षाकर्मीले पुनः सोध्न थाले,
तेरो घर कहाँ हो ?
बोलेन ऊ ।
किन त्यसरी पुलमुनि बसेर कुकुर पोलेको ?
तै पनि बोलेन ।
कसले दिएन तँलाई नागरिकता ?
नागरिकताको कुरा सुनेपछि भने ऊ अलिक चनाखो देखियो र पूरानै कुरा दोहो¥यायो, मलाई भोक लागेको छ ।
भोक लागे पनि त्यसरी कुकुर खानु हुन्थ्यो त ?
– मैले केही खानेकुरा पाइन ।
अनि त्यो कुकुर मरेको हो कि मारेर पोलिस ?
त्यसो भने पछि ऊ निकैबेर घोसेमुन्टो लगाएर झुकिरह्यो र केही बेरपछि भन्यो, मारेको ।
– कसरी मारिस ?
कड्केर एकजनाले सोधेपछि उसले अगाडि भन्न थाल्यो, “यसले पनि मलाई भुक्थ्यो, डक्थ्यो र खेदिरहन्थ्यो । मैले त्यसलाई केही खान दिएँ । अर्को दिनदेखि त्यसले मलाई पछ्याउन थाल्यो । मैले त्यसलाई माया गरेँ । मैले भटेको खानेकुरा खान दिएँ । केही दिनदेखि त मै भोको भएँ । आफैँ भोको भएपछि त्यसलाई के खान दिनु ? अनि मैले त्यसैलाई खाने बिचार गरँे । काखमा राखेर किर्ना टिपी दिएँ । मैले किर्ना टिपीदिँन थालेपछि त्यो मेरो काखमा सुत्यो । मैले बिस्तारै त्यसको घाँटी थिचेँ । त्यो छट्पटायो तर मैले त्यसको घाँटी लगातार थिचिरहेँ अनि म¥यो ।
अनि के गरिस् ? सोध्नेहरुले सोध्न छोडेनन् ।
त्यसपछि उसले अरु बढी गम्भिर भएर भन्यो, मैले चार्ली च्याप्लिनलाई सम्झेँ ।
को चार्ली च्याप्लिन ?
– आफ्नै बुद्धि र मिहिनेतले बाँचेको मान्छे । उसले आफ्नो भोक मेटाउन जे पनि ग¥यो रे जे पनि खायो रे, जुत्ता बनाउने छाला पनि पकाएर खायो रे ! मैले सुनेको थिएँ । त्यसपछि मैले कुकुर खाँदा के हुन्छ ? भनेर पोलेको ।
– म कुकुरको मासु खाएर बाँच्थे । खान लाग्दा तिमीहरूले रोक्यौ । मलाई भोक लागेको छ । तिमीहरूले मलाई मार्न यहाँ ल्यायौ तर म मर्दिन । मैले धेरैलाई मार्नुछ । जसले मलाई मार्न खोज्यो ।
उसले जगल्टा परेको कपाल दुबै हातले बेस्सरी कन्यायो । कन्याउँदा कन्याउँदै भुईँमा ६/७ ओटा ढाडी जुम्रा झरे र रगरग हिँड्न थाले । उसले खुट्टाले किचिमिचि पार्दै भन्यो, मेरो रगत चुस्नेलाई म यसैगरी मारि दिन्छु । मेरो काकाबाउलाई पनि यसैगरी मार्नुपर्नेछ मैले ।
म मर्दिन… म मर्दिन…
उसले रुँदै भन्न थाल्यो, मलाई भोकले नमार, मलाई भोक लागेको छ उसले त्यसो भनेपछि अनुसन्धानरत सुरक्षाकर्मीहरूले उसलाई सोध्न छोडेर खानेकुराको बन्दोबस्त गर्न लगाए ।
खाना देख्ने बित्तिकै उसको मुखबाट एकलत्को ¥याल भुँइमा खस्यो । अजिङ्गरले आहारा तानेझैँ उसको पेटले खाना यति छिटो तान्यो कि लगभग दुईमिनेटमा उसले दूईथाल भात खाई सक्यो ।
भात खाईसकेको केहीछिनमै ऊ हिरासतको बेन्चमै निधायो ।

त्यसविचमा शुरक्षाकर्मीहरूले भोकको विषयमा केही कुराकानी गरे ।
एकजनाले कुरा उठायो, यो भोक भन्ने कुरा सबैभन्दा खतरनाक हुँदो रहेछ ।
अर्कोले थप्यो, वास्तवमा भोक जति खतरनाक अरू केही नहुँदो रहेछ ।
चाहे त्यो बिचारको भोक होस् या जुनसुकै ।

त्यसपछि हरिहरनाथले भन्न थाले, (जो कार्यालय प्रमुख पनि थिए ।) साँच्चिकै भोकले औडाहा बलेपछि मानिसले जे पनि गर्न सक्ने रहेछ ।

जुनसुकै कुराको भोक होस्, त्यसले मानिसलाई विचलित बनाउँदो रहेछ । विचलित मात्र होईन, आक्रोशित, उदण्ड र हिंश्रक पनि बनाउँदो रहेछ । विश्वमा जति पनि हिंश्रक युद्ध भए ती सबै कुनै न कुनै भोकको परिणाम थिए । चाहे ती स्वतन्त्रताको पक्षमा होस् वा मूक्तिका खातिर अथवा शासन सत्ता बिरुद्ध वा शासकका बिरुद्ध । चाहे जेसुकै नाममा भए पनि भोकका परिणाम थिए र ती इतिहासका उत्कृष्ट नमुना पनि भए ।

क्रमशः…

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...