Admission Open

सिंगापुरको स्वाद…

नियात्रा

# गोपीकृष्ण ढुंगाना

‘सिंगापुर फ्लायरबाट इन्डोनेशिया र मलेशियाका दृष्य पानोरामा तस्वीरजस्तै देखिन्छन्’, गाइडले जब फ्लायरको फ्लेभर दिइन् तब ममा एक सय ६५ मिटर (५४१ फिट) अग्लो फ्लायरबाट अरू देशको पनि फन्को मार्ने सुर चढ्यो । ‘सूचना’ लाई २१औं शताब्दीमा ‘सम्पत्ति’ मानिन्छ । फ्लायर विश्वकै एक विशाल अवलोकन केन्द्र र एसियाको सबैभन्दा ठूलो पर्यटन आकर्षणको केन्द्र भन्ने सूचना पाएपछि त चढ्नै पर्ने अवस्था भयो । हामी फ्लायरमार्पmत् झन्डै ४२ तले भवनको टुप्पोमा पुग्दै थियौं ।
समय व्यवस्थापनको चुनौती चिर्न नसकेर सूचनाको अभाव खेप्नु परेको यो सञ्चारकर्मी यसै पनि सिंगापुर टेक्नेबित्तिकै चिप्लिसकेको थियो । यात्राको पाँचौं दिन बैंककबाट सिंगापुर पुगेपछि मध्यरातमा युट्यूबमा ‘टप टेन एयरपोर्ट’ हेर्दा पो थाहा भयो, सिंगापुरको चाङ्गी एयरपोर्ट विश्वको ‘नम्बर वान’ रहेछ । चाङ्गीलाई चारैतिरबाट चिहाउनै पाइएन, एक सूचना अभाव अर्को रातको १० बजे ‘एयर एशिया’ ले ल्याण्ड गराएकाले । थाइल्याण्डको डन मुयाङ इन्टरनेशनल एयरपोर्टबाट उड्ने बेलाको पानीको विशाल वर्षाले झन्डै ४५ मिनेट यात्रा अवरुद्ध भएथ्यो, जब पानी रह्यो तब सुरु भयो प्लेनको वर्षा । एकैपटक नौवटा रन–वे प्रयोग गर्न सकिने भए पनि त्यो एयरपोर्टमा प्राविधिक कारणले हुनसक्छ, एउटामात्र रन वेमा ल्याण्ड गर्नुपर्ने भएपछि थप झन्डै ४५ मिनेट नै ‘वेटिङ’ मा बस्न बाध्य भयौं । साँझको समय त्यसमाथि बर्षा नसकिँदाका बादलका कारण अँध्यारो अवस्था ।

जब एउटा प्लेन ल्याण्ड गर्छ लगत्तै पर क्षितिजबाट अर्को प्लेनको ‘हेडलाइट’ बलिहाल्थ्यो । केही मिनेट लगाएर जब त्यसलाई जसै हामी स्वागत गथ्र्यौं, उकुसमुकुस भीडबाट मानिस बाहिरिएजसरी अर्को प्लेनले हेडलाइट बालेर काला बादलबाट आफूलाई बाहिर निकाल्थ्यो । ‘प्लेन’ मानौं यसरी आउँथे जसरी बत्ती बालेका जुनकिरी एकपछि अर्को आउँछन् । नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘एयरट्राफिक’ को समस्या सुने र भोगेको मैले बैंककको त्यो एयरपोर्टको ‘एयरट्राफिक’ सामू हामी सामान्य अवस्थामा रहेको महसुस ग¥यौं । हुनत यसअघि थाइल्याण्डकै सुवर्णभूमि एयरपोर्टमा नै झन्डै २० मिनेट ‘एयरट्राफिक’ को पीडा भोगिसकेका थियौं ।
चाँगी एयरपोर्टमा समूहका नौ जनाले मलेसियाका लागि पुनः अवसर पाउँदै थिए तर हामी दुईले भने काठमाडौंबाटै सिंगापुर–मलेसिया बसको यात्रा गर्ने भनी तय गरिसकेका थियौं, उड्दाभन्दा गुड्दा धेरै दृष्य आँखाभरि सजाउन पाइने संभावनाले । जेहोस्, यतिबेला हामी फ्लायर परिसर पुगिसकेका थियौं । रोटे पिङमै रिंगटा लाग्ने मेरी जीवनसंगी कमला भने फ्लायरको फ्लेभर जतिसुकै स्वादिलो भए पनि नलिने अडानमा बसिन् । ‘लगभग सबैजना जोडीसँग फ्लायरमा सयर गर्नेछन्, म भनें एक्लै… ।’ यस्तै बेमौसमी रंगमा घुलिरहँदा एकाएक खुसीको बहार छायो । गाइडले भनिन्, ‘यो जति अग्लो र डरलाग्दो देखिए पनि त्यस्तो हुँदैन किनकी यसले फन्को मार्ने एकपटक हो र गति तपाईले थाहै पाउनुहुन्नँ ।’ एक फन्को मार्न ठ्याक्कै ३० मिनेट लगाएपछि के को डर ? दुवै फ्लायरको एक सय ६५ मिटर अग्लो टुप्पोमा पुग्ने र इन्डोनेशिया र मलेसियाको दृष्य हेर्न पाउने भएपछि मेरो लुटिएको खुसी फर्कियो ।

फ्लायरको परिकल्पना र डिजाइन डा. किसो कुरोकावाको रहेछ । सन् २००५ मा बनाउन थाले पनि तीन वर्षपछि सञ्चालनमा आएको रहेछ । एक दसकपछि हामीले किसोको करामत अवलोकन गर्न पाएछौं । त्यो समयमा फ्लायरलाई १८ करोड अमेरिकी डलर खर्चिएको थियो । २८ डब्बे फ्लायरको एक डब्बामा २८ जना अटाइनेरहेछ । एक पटकको फन्को मार्न ती सबै डब्बामा सात सय ८४ जनाले अवसर पाउनेरहेछन् । प्रतिव्यक्ति ३३ सिंगापुर डलर पर्ने फ्लायरमा बालबालिकालाई २१ र वृद्धवृद्धालाई २४ सिंगापुर डलर खर्चिनुपर्ने रहेछ । ‘क्याप्सुल’ भनिने डब्बाभित्र पस्दा एक किसिमको खुसीले सामान्य लागेको हामीलाई जति जति उचाईमा जाँदै थियौं त्यति त्यति डर पनि मुटुभरि भरिँदै थियो । एउटै कारण काफी थियो कि ती डब्बाको चारैतिर शिशाले घेरिएको थियो । समुद्रको आकर्षणमात्र होइन, फ्लायरबाट गतिशील सिंगापुरका अनेक आयामको अवलोकन गर्न पाइयो । फ्लायरको टुप्पोबाट मलेसिया र इन्डोनेशियाका दृष्यहरू पनि देखिए । उडानको पृथक अनुभूति दिलाउने यसलाई ‘द जर्नी अफ ड्रिम्स’ को उपाधि दिइएको छ ।
सेन्तोसाको सेरोफेरो
जे जेले फ्लायर, सिंहको मुखबाट निस्कने फोहोरा, चाइना टाउन, लिटिल इन्डिया, चकलेट फ्याक्ट्री आदि ठाउँ घुमाएर दिउँसो दुई बजे ड्राइभरको जिम्मा लगाइन् । पाइलैपिच्छे अंग्रेजीमा सिंगापुरका हरठाउँको ब्याख्या गरिरहने जेले छोडेपछि ड्राइभरको ‘मौन’ शैलीले हामी एघारै जना ‘सुनसान’ भयौं । अढाई बजे सेन्तोसा पु¥याएर आठ बजे यही ठाउँमा आउनू भन्दै हरायो । सिंगापुरको सानो आइल्याण्ड भनिए पनि सेन्तोसा हाम्रा लागि विशाल ठहरियो । कताबाट सुरु गर्ने के के गर्ने के नगर्ने र कसरी टिकटले पाउने सुविधाको भरपुर प्रयोग गर्ने केही थाहा थिएन ।


सेन्तोसालाई सिंगापुरको पर्याय बनाइएको रहेछ । एकै दिनको बसाई किन नहोस्, सेन्तोसा नपुगी सिंगापुर अधुरो हुनेरहेछ । सेन्तोसालाई ‘फुल अफ फन’ भने हुन्छ । खासगरि रिल्याक्सका लागि दैनिक हजारौं मानिस त्यहाँ पुग्दारहेछन् । झट्ट हेर्दा प्राकृतिक उपहार लाग्ने सेन्तोसा मानवनिर्मित आइल्याण्ड रहेछ । महंगा रिसोर्टदेखि युनिभर्सल स्टुडियो, टाइगर स्काई टावर, सिंगापुर बटर फ्लाई एन्ड इन्सेक्ट किङडम, जलीय जनावारहरूको सबैभन्दा ठुलो (विश्वकै मध्ये एक) संग्रहालय, सामुद्रिक जलजीवशाला (सि एक्युरियम) आदि एकैठाउँमा छन् । सेन्तोसा जसले एसियाकै देशबासीलाई एकपटक होइन, पटकपटक गन्तव्य बनाइरहेछ ।

सप्ताहन्त मनाउनेको पनि यहाँ भीड लाग्दोरहेछ । यहाँ चल्ने केबुलकार अर्को आकर्षण हो जसबाट सेन्तोसा क्षेत्रमात्र होइन, आसपासका सामुद्रिक दृष्य र केही पर देखिने सिंगापुर सहर पनि आँखामै पानोरामा दृष्यमा कैद हुनेगरिको छ । समय मिलाउन नसकेर थुप्रै घटना छुटायो हाम्रो टोलीले । दिनभरका लागि एउटै निश्चित रकम तिरेर प्रवेश गरेपछि पूर्ण मनोरञ्जन लिनुपर्ने त्यो ठाउँ हामीले समयाभावले चार÷पाँच घण्टामात्र पाएका थियौं । भनिन्छ, एसियामा पर्ने सिंगापुर युरोपियन शैलीको एउटा देश हो ।
इकोनोमिस्ट इन्टेलिजेन्स युनिट (इआइयु) ले सन् २०१८ मा गरेको सर्वेक्षणले सार्वजनिक गरेको ‘वल्र्डवाइड लिभिङ कस्ट’ मा सिंगापुर विश्वकै महंगो सहरको सूचीमा छ । क्रमशः दोस्रोदेखि दसौंसम्ममा फ्रान्सको पेरिस, स्वीट्जरल्याण्डको जुरिच, हङकङ, नर्वेको ओस्लो, स्वीट्जरल्याण्डको जेनेभा, दक्षिण कोरियाको सोल, डेनमार्कको कोपेनहेगेन, इजरायलको तेलअभिभ र अष्ट्रेलियाको सिड्नी छन् । धन्य, त्यो महंगो सहरमा तीन दिन बिताइयो । हुनत पहिले दिन एयरपोर्टहुँदै होटल आइपुग्दै रातको ११ बजेको थियो भने तेस्रो दिन ब्रेकफास्ट लिएर मलेसिया जाने डिलक्स कोचमा पुग्दा बित्यो । दोस्रो दिनमा धेरै फाइदा लियौं नै ।
थाइल्याण्डको पताया र मलेसियाको सन–वे मा पौडीको मज्जा लिएका हामी सेन्तोसामा समुद्र र पानीको मज्जा लिन सकेनौं । साँझपख सामुद्रिक किनारा (स्टेडियममा झैं) मा एकपछि अर्को गर्दै झन्डै दुई हजार मानिस भेला भयौं । झपक्कै साँझ परेपछि सुरु भयो, पानी र बिजुलीको खेल । यो हाम्रा लागि एकदमै अनौठो खेल थियो । उज्यालोमा सामान्य संरचनामै रात परेपछि समुद्रको पानीमा बिजुलीबत्ती (लाइट सो) प्रयोग गरेर मनै हर्ने दृष्यहरू देखाइँदा अचम्म नमान्ने कुरै भएन । क्षणभरमै नसोचेका र पत्याउनै नसकिने दृष्यहरूको ‘परी कथा’ देखाइयो, मानौं कुनै सिनेमा हेरिरहेका छौं । अझ सेन्तोसाको ‘नाइट लाइफ’ को भव्यता शब्दमा सीमित राख्नुप¥यो । जहाँ हङकङको जस्तै सिंगापुर क्रेन डान्स, सङ्स अफ सि, म्याम्बो बीच क्लबको मनोरञ्जन आदिको मज्जा अर्को पटकलाई साँचेर फर्कियौं ।

सिंगापुरको सिर्जना

एसियाकै ठूलो र भव्य दृष्यावलोकन गर्ने फ्लायरका रूपमा सिंगापुर फ्लायरलाई लिइँदोरहेछ । सिंगापुर यसका थुप्रै आकर्षणहरूको योगभन्दा बढी छ, मैले कतै पढेको थिएँ । विकासलाई नयाँ स्वरूप, पुनर्आविष्कार र पुनर्कल्पना गर्दै निरन्तर संभावनाहरूलाई आत्मसात् गर्दै सिर्जनशील काम गरिरहेको आभास भयो मलाई पनि सिंगापुर । सन् १२९८÷९९ देखि बसोबास सुरु भएको हालको सिंगापुरलाई तत्कालीन समयमा ‘सि टाउन’ भनेर चिनिन्थ्यो । यसअघि तेस्रो शताब्दीमा चिनियाँहरूले यसलाई ‘पु लुओ चुङ’ भन्थे जसको अर्थ ‘प्रायद्धिपको अन्त्यको द्धिप’ थियो ।
पौराणिक कथाअनुसार, स्याङ नीला उतमा, पालेम्बाङ (श्रीविजयाको राजधानी) की एक राजकुमारीसँग एक शिकार यात्रामा निस्किइन् । शिकारका क्रममा उनले यस्तो जनावार पक्रिए की त्यस्तो यसअघि कहिल्यै देखेकै थिएनन् । राम्रो संकेतका रूपमा लिँदै उनले सहरको स्थापना गरी यही नाम जुराए, ‘द लायन सिटी’ । संस्कृत शब्दहरू ‘सिम्ह’ (लायन) र ‘पुरा’ (सिटी) बाट बनेको पाइन्छ ‘सिंगापुर’ । १४औं शताब्दीमा सानो तर रणनीतिक क्षेत्रले नयाँ नाम पाएको इतिहास छ । त्यसपछि त्यो प्राचीन सिंगापुरमा पाँच राजाले शासन गरेको पाइन्छ । सिंगापुर सहर पनि देश पनि । सुनेको थिएँ, सिंगापुर देश हाम्रो जिल्ला अर्थात् झापा जत्रै छ । तर जब हाम्रो गाइड जे जे (सिंगापुरमा जन्मिएकी चिनियाँ नागरिक) ले सुनाइन्, यथार्थ बुझ्दा तीन छक्क परें ।
सिंगापुर सात सय १९.९ वर्गकिलोमिटर क्षेत्रफलको मात्र रहेछ जबकी झापा जिल्लाको क्षेत्रफल एक हजार ६ सय ६ वर्गकिलोमिटर । उन्नति र प्रगतिका लागि क्षेत्रफल चाहिन्छ भन्ने भ्रमबाट म मुक्त भएँ । सिंगापुर सहर रणनीतिक ठाउँकै कारण अहिले यो व्यापारका लागि पनि ‘आदर्श केन्द्र’ बनेको छ । विकासक्रम जे भए पनि १९औं शताब्दीमा मात्र आधुनिक सिंगापुर भएको हो । जर्ज कोलेम्यान (सन् १८२२) आधुनिक सिंगापुरका पहिलो आर्किटेक्ट मानिन्छन् ।

द सिटी अफ लायन

हालिमाह बिन्ति याकोब अहिले सिंगापुरकी राष्ट्रपति छन् । उनी आठौं राष्ट्रपति हुन् । लि हसिन लुङ प्रधानमन्त्री छन् । उनी तेस्रो प्रधानमन्त्री हुन् । सानो आइल्याण्ड देश सिंगापुरमा ५५ लाख जनसंख्या छ । सिंगापुर एक दर्जन ठाउँले पूर्ण बनेको छ । रिभर साइड अत्यन्तै रमणीय स्थान छ । दिनमा भन्दा रातमा यसको सौन्दर्य तेजिलो छ । मेरिना बे अर्को आकर्षण मानिन्छ । सिंगापुरको यो नयाँ विशेषता रहेछ । रिसोर्टको एकीकृत नमूना जसमा संग्रहालय, होटल, क्यासिनो, सपिङ मल, सम्मेलन केन्द्र छ साथै यसमा मेरिना ब्यारेज पनि ।
ओर्काड रोड सिंगापुरको किनमेलको जिल्लाका रूपमा चिनिन्छ । दुई किलोमिटर दुई सय मिटरमा यो फैलिएको छ । यसैगरी, चाइना टाउन, लिटिल इन्डिया आदि घुमफिरका लागि आकर्षक छन् । सिंगापुरको उत्तरमा रहेको आइल्याण्ड ‘उडल्याण्ड’ का रूपमा परिचित छ भने पश्चिम तर्फको आइल्याण्डमा आवासीय क्षेत्र छन् । उत्तर–पश्चिम अविकसित ठाउँ छ जहाँ जंगलहरू छन् भने सो क्षेत्रमा सैनिकका लागि तालिम गर्ने ठाउँ बनाइएको छ ।
उत्तर–पूर्वमा पनि आवासीय क्षेत्र छ । पूर्वी तटमा चांगी एयरपोर्ट, थुप्रै सामुद्रिक किनारा आदि छन् । जुरोङ सन् १९६० तिर ठुलो औद्योगिक क्षेत्र भए पनि अहिले नान्याङ प्राविधिक विश्वविद्यालय, बर्ड पार्क, सिंगापुर साइन्स सेन्टर र सिंगापुर डिस्कोभरी सेन्टर आदि भएको विशेष ठाउँ हो । ट्याम्पीनेस चांगी एयरपोर्ट छेउको आइल्याण्ड हो जुन हर्टल्याण्डस्मा अवस्थित आवासीय क्षेत्र नै हो । मुख्य सहरको मुखबाट पानी आउने सिंह रहेको क्षेत्रको मुख्य आकर्षणदेखि सेन्तोसामा रहेको त्यस्तै तर पानी नआउने सिंहको मूर्तिले सिंगापुरको परिचय बोकेका छन् । सिंगापुरको सेरोफेरोका यी सबै स्वाद मुखमा होइन, मनभरि ट्याटुझैं खोपिएका छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...