Admission Open

भूकम्पले हल्लाएको मन

संस्मरण

# टङ्क भट्टराई
वि.सं. १९९० सालको भुइँचालो नेपालका गाउँ सहर सबैतिर मान्छेको जीवन पद्दतिको एउटा सीमा रेखा बन्यो । खास तिथिमिति थाहा नहुने निरक्षर मान्छेका लागि आफ्ना विशेष घटनाहरू सम्झनको लागि एउटा आधार बन्यो ।
पल्लाघरकी आमोई भन्थिन्– “नब्बे सालको भुइँचालो जाँदा म दश बर्खकी थिएँ । तिमेरु मुला त हिजो जन्मेका ।”
तीनतले घर जेठाउ भन्थे– “भुइँचालो गाका साल मेरो बिहा भाको ।”
माथ्लाघरका बा भन्थे– “त्यस दिन सोमबारे औंसी परेको थियो । भुइँचालो आउने बेलामा दिन पनि औंसीको रात जस्तै भयो । त्यो बेला हामीले दिउँसै आकाशमा ताराहरू देख्यौं । धन्न बाँचियो र यो दुनिया देख्न पाइयो ।”
अठा¥ह सालमा पनि ठूलो भुइँचालो जान्छ भनेर मान्छेहरू बारीका पाटामा गोठ बनाएर महिनौं बसेको कुरा गर्छन् बूढापाकाहरू । मैले भने ०४५ सालअघि सानै छँदा एकचोटि भुईं हल्लिएको थाहा पाएको छु । त्यो बेला म आठमुरेको बारीमा आमासँग मकै गोडिरहेको थिएँ । जेठको महिना थियो । दिउँसो मान्छे सबै खेतबारीमा थिए। अचानक पृथ्वी हल्लियो । तर एकै छिन मात्र । मान्छेहरू भुइँचालो–भुइँचालो भन्दै कराउन थाले । अनि मात्र मैले थाहा पाएँ– भुइँचालो गएको यही रहेछ भनेर ।
२०४५ सालको भुइँचालो भने सबैलाई डरलाग्दो गरी थाहा दिएर गयो । भदौ ५ गते बिहान भाले बास्ने बेलामा भूकम्पले त्राही–त्राही बनायो । त्यो अघिल्लो दिन ४ गते बेलुका दिक्तेलमा साँस्कृतिक कार्यक्रम थियो । त्यसदिन सिमलबोटे लेखबहादुर, कृष्ण भुजेल र म दिक्तेल ठानानिर बसेका थियौं । घर अग्लो चार तले थियो । हामी माथिल्लो तलामा सुतेका थियौं । बजारका घरहरू सबै ढुङ्गा–माटाकै थिए । घर यस्तरी हल्लियो कि आजचाहिं गइयो भन्ने लागेको थियो । माथिल्लो तला त्यहाँमाथि अर्काको घर, भाग्न सक्ने अवस्था पनि थिएन । बजारहुँदी सारा कोलाहल मच्चिरहेको थियो । उदयपुर केन्द्रविन्दु बनाएर आएको त्यो भूकम्प सात रेक्टर स्केलको रहेछ । त्यो बेला धरान, उदयपुरमा निकै घरहरू ढले र केही मान्छेहरू मरे ।


त्यो बेला सरकारले भूकम्प प्रभावित जिल्लामा चर्किएका घरहरूलाई राहत स्वरुप पाँच र दश हजार रुपैंया ऋण दिने नीति लिएको थियो । पछि त्यो ऋण मिनाहा गर्छ भनेर गाउँका लोभी–पापी मान्छेहरूले झम्पलले हानेर घरका चुली गारा भत्काएका थिए ।
०४५ सालको भूकम्पमा हाम्रो गाउँमा एउटा रमाइलो कहानी बनेको छ–
गाउँका कान्छा बुढा (नाम परिवर्तन) जहिल्यै पनि लगौंटी लाउँथे । सानो झुप्री घरभित्र मझेरीमा बुढी र छोराछोरी एकै ठाउँ लस्करै सुतेका बेला बिहानीपख अचानक भुइँचालो आएपछि आत्तिएर बूढी र केटाकेटीहरू सबै दैलो खोलेर भागेछन् । तर, उनको लगौंटी ओछ्यानमा कता परेछ कता । उनी भित्र अँध्यारोमा एक्लै गन्गनाउँदै लगौंटी खोज्दा भुइँचालो नै थामिएछ । बल्ल–बल्ल बुढीको मजेत्रो भेटी बाहिर निस्किएर हेर्दा गाउँका सारा मान्छेहरु बाटा र बारीका पाटाहुँदी निस्केर कराइरहेका । त्यही बेला यसो आँगनतिर नियाल्दा लगौंटी त केटाकेटीसँगै बाहिर आँगनमा पो पुगेको रहेछ ।
त्यसपछि भूकम्प एकैचोटि ०६८ साल भदौमा आयो ।
अमेरिकन राजदुतावास अगाडिको पर्खाल लडेर तीन–चार जना मान्छे मरे । अरू त्यस्तो क्षति भएन ।
०७२ साल बैशाख १२ गते, शनिवार ।
नब्बे सालपछिको ठूलो विनाशकारी भूकम्प । कसैले ८.१ कसैले ७.९ रेक्टर स्केलको भने । त्यो बेला हाम्रो भट्टराईको देवालीको लागि श्रीमती सहित म घर (विराटचोक, मोरङ) गएको थिएँ । वैशाखको प्रचण्ड गर्मी। दिउँसो सबैजना घरभित्र प्यासेजमा गफ गरेर बसेका थियौं । झापाबाट बूढा गोपे भुजेल देवालीको सल्लाह गर्न आएका थिए । अचानक घर हल्लिन थाल्यो । धर्ती यसरी हल्लियो कि जीउ पूरै असन्तुलित भएर भाग्न पनि बाह्र भो । आमा सँगै हुनुहुन्थ्यो । ‘मेरो–मेरो’ भन्न थाल्नुभयो । चार हात पाउ टेक्दै हामी बल्ल बल्ल बाटामा निस्कियौं । सबै जना ‘मेरो–मेरा’े भन्दै घर बाहिर भागिरहेका थिए । केटाकेटी भने रुवाबासी गरिरहेका । पृथ्वी यसरी हल्लियो कि ठूलाठूला घरहरू र बाटाका रुखहरू समेतले जमिन छोएजस्तो लाग्यो ।
भूकम्प थामियो ।
भूकम्प थामिंदा पनि घर हल्लिरहेका थिए । आमाले भन्नुभयो, “बाटामा उभिनु हुँदैन अहिले भुइँ चिरिन्छ। एकछिनपछि भुइँचालो फेरि फर्किन्छ ।” गोपे भुजेलले थपे– “९० सालको भुइँचालोमा मधेसमा बाटो चिरिएर त्यहाँबाट फुत्त–फुत्त माछा निस्किएका अरे ।” त्यसपछि आमाले बारीतिर तानेर लानुभो ।
मान्छेहरू धेरै बेरसम्म घरिभित्र पसेनन् । फोनहरू कतै लागिरहेका थिएनन् । हाम्रा केटाकेटीहरू काठमाडौं बूढानीलकण्ठमा थिए । पछि फोन सम्पर्क भएपछि थाहा भयो, सबै ठीकै रहेछन् । एक छिनपछि सबैतिर अप्रिय समाचारहरू फैलिन थाल्यो–
काठमाडौंको धरहरा रहेन । यति तले घरहरू ढले । यति मान्छेहरू मरे । कोही घरमै च्यापिएर मरे । कोही भाग्दाभाग्दै ढले ।
अब प्रत्येकका मुखमा मृत्युका समाचार मात्रै । घरहरू ढलेका खबर मात्रै ।
यो भूकम्पमा हाम्रा गौरवका निशानीहरू ढले । साँस्कृतिक, पुरातात्विक महत्वका मठ मन्दिरहरू ढले । कति बस्तीहरू पूरै सोत्तर भए । टि.भी., रेडियो, पत्रपत्रिकाहरू सबैतिर उही मृत्युका कुरा । उही विनाशका कुरा । मान्छेको मृत्यु र भौतिक सम्पत्तिको विनाशका खबर दिनहुँ थपिंदै गए । देशै शोकमग्न बन्यो ।
यो भुइँचालोका केही अचम्म लाग्दा संयोग छन्– जस्तै पाँच ‘ब’ का कुरा–
साल– बहत्तर । महिना– वैशाख । गते–  बाह्र । समय– बाह्र बजे । केन्द्रविन्दु– बारपाक (गोर्खा) ।


यो ठूलो भूकम्पपछि पनि बराबर पराकम्पनहरू आइरहे । धर्ती हल्लिन छोडेन । रातोदिनको भुइँचालोको डरले धर्तीमा मात्र होइन मनमा पनि निरन्तर पराकम्पनहरू आइरहे । मान्छेलाई अझै त्राही–त्राही बनाइरहे । यो बेला मान्छे साँच्चै यथार्थ धरातलमा आयो । मान्छे आफ्नो पुरानो आदिम स्वरुपमा बदलियो । धर्ती भन्नु नै ईश्वर । मान्छेले साँच्चै ईश्वरलाई सम्झ्यो । केही छिन अघिसम्म जात, धर्म, वर्ग आदिमा विभाजित भएका नेपाली मनहरू फेरि जोडिए । लोभको पराकाष्ठामा दौडिरहेका मान्छेलाई जीवन र सम्पत्तिको क्षणभुङ्गुरताको बोध भयो । अट्टालिकामा बस्नेहरू सडकमा ओर्लिए । को धनी, को गरिब, को सानो जात, को ठूलो जात सबै एउटै पालमा अटाए । ने मुनिले पालन गरिएको भनिएको यो नेपाल अब पूरै पालमय भयो । भूकम्प प्रभावित नेपालका जिल्लाहरूमा आदिम साम्यवादकालीन युग फर्केजस्तो लाग्यो ।
धन र ज्यानको क्षतिले पीडा र शोकमा डुबेकाहरूलाई राहत दिन देशी विदेशी दानवीर हातहरू अघि बढे। व्यक्ति तथा परोपकारी संघसंस्थाहरू, व्यापारिक र उद्योगीहरू, विभिन्न निजी तथा सामाजिक संघ–संस्थाहरूले बस्ती–बस्तीमा गएर घर निर्माण गरिदिने तथा खाद्य सामग्री तथा लत्ता कपडा वितरणमा आफ्नो उदात्त भाव देखाए।
हो, यही बेला कतिले धमिलो पानीमा माछा पनि मारे । राहत वितरणमा अनियमितता पनि भयो । सहयोगका नाममा विदेशीसँग हात फैलाएर कतिले आफ्नो पोल्टो बलियो बनाए । नहुने भन्दा हुनेहरूमा फेरि लोभपाप पलायो । राहत थाप्न जताततै प्रतिस्पर्धा । त्यत्रो राहत ओइरिंदा पनि आफूलाई पुगो, अरूलाई पुगेको छैन भन्ने कोही देखिएनन् । कति निर्धा निमुखाहरू पछाडि नै परे । हुल र भीडमा बलियो नै अघि प¥यो । जति पाए पनि नपुग्ने । जति थापे पनि हात रित्तो नै देखाउने । एकछिन अघि भुइँचालोले साम्य बनाएको मान्छेको लोभ र स्वार्थ अन्तस्करणदेखि फेरि पलाउन थाल्यो । राहतको कति दुरुपयोग पनि भयो । कतै खडेरी प¥यो । कतै पानी ओइरिएको ओइरियै ।
विपद्पछिको आवश्यकता मूल्याङ्कनको लागि भूकम्प अति प्रभावित १६ जिल्लामा सरकारले सरकारी अधिकृत तथा इञ्जनियरको टोली एक महिनाको लागि खटायो । सरकारले खटाए अनुसार उद्योग विभागको हाम्रो टोली नुवाकोट जिल्लामा पुग्यो । हामी प्राविधिक र गाविस सचिवको टोली सहित नुवाकोटका गाउँ र नगरमा छरिएर काम गर्न थाल्यौं । म भने विदुर नगरपालिका वडा नं ६ मा खटिएँ ।
गाउँका कच्ची घरहरू सबै ढलेका । मान्छेहरू सबै बारीका पाटामा पाल टाँगेर बसेका । गाउँ शरणार्थीहरूको बस्तीजस्तो । नुवाकोटको विदुर गर्मी ठाउँ । दिउँसो पाल तातेर बसी सक्नु नहुने । गाउँभरि झ्याम्म परेका आँप, कटहर र लिच्चीका बोटहरू । दिउँसो मान्छेहरू तिनै रुखका छहारीमा कोही सुतिरहेका, कोही बात मारिरहेका र कोही राहत आयो भनेर त्यतैतिर दौडिरहेका भेटिन्थे ।
विदुरमा बस्न लायक कुनै होटल थिएनन् । सबै भुइँचालोले ढलेका र जर्जर भएका । म स्थानीय बासु केसीको कुखुराको टहरोमा बसें । उनीहरू पनि त्यहीं बस्थे । खानाचाहिं बासुजीको आमाको घरमा खान्थें । घरमा पालेका भैंसीको दूध, दही, मही त्यहाँ खुबै खाइयो ।
जेठको महिना गर्मी निकै भएकोले बिहान ६ बजे उठेर १०–११ सम्म र दिउँसो २ बजेदेखि ७ बजेसम्म हामी काम गथ्र्यौं ।
वैशाख २९ गते बिहानको काम सकेपछि ११ बजेतिर म भित्र कोठामा सुतेर आराम गरिरहेको थिएँ । कोठामा पङ्खा चलिरहेको । निदाएको बेला अचानक भुइँचालो आएछ । मैले थाहा पाइनँ । एकैचोटि मान्छेको कोकोहोलो सुनें । त्यही बेला बाहिरबाट कोही कुद्दै आयो र मलाई सर–सर भन्दै उठाएर बाहिर लग्यो । मैले डरले उसलाई अँगालो मारें । हामी आँगनमा निस्कियौं । भुइँचालोमा भाग्दा मलाई यस्तो लागो कि हामी आँगनीमा नाचिरहेका छौं । हात गोडा ठेगानमा थिएनन् । बाँकी भएका घरका गाराहरू ढलिरहेका थिए । धन्न केही भएन । आफ्नो ज्यानको मात्र माया गरी यस्तो विपत्तिमा आफैं मात्र भाग्छ मान्छे । तर धर्ती त्यसरी हल्लिरहँदा पनि ज्यानको पर्वाह नगरी मलाई निदाएको बेला समातेर लाने त्यो आँटिलो मान्छे भनेको बासुजीकी दिदी शारदा थिइन् । काठमाडौंमा बस्दै आएकी तिनी केही दिन अघि नुवाकोट माइती गएकी थिइन् । आज सम्झँदा पनि तिनीसँग बाहिर आँगनमा एकअर्कालाई समाएर नाचेको अनुभूति भइरहेछ ।


जति राहत आए पनि कोही पुग्यो र पायौं नभन्ने । वडा सचिवकोमा बिहानदेखि बेलुकैसम्म मान्छेहरू कराइरहेका हुन्थे । बाझिरहेका हुन्थे । गाउँलेका घरमा बिस्कुट त यति थियो कि केटाकेटीहरू वाक्क भएर कुकुर र बोका–बाख्रालाई खुवाइरहेका हुन्थे । दाताले बाँडेका मिनरल वाटर बढी भएर त्यही पानीले मान्छेहरू बारीको कुनामा चाक धोइरहेका हुन्थे । अनि अरूबाट सहयोग स्वरुप प्राप्त भएको पैसाले जाँड खाएर कोही बिहानैदेखि सडकमा हल्लिरहेका हुन्थे । कोही तासमा जमिरहेका हुन्थे । हामी क्षति विवरण सङ्कलन गर्न घरघर गएका बेला तपाईंहरूले के के पाउनु भो भनेर सोध्दा धेरै जसोले– “हाम्ले त केही पाएनौं । खाली अरूले मात्तै । लौ न हजूर, हाम्लाई पनि राम्रो पाल, खानेकुरा, कपडा र पैसा मिलाइदिनु प¥यो” भन्थे । अनि कोही चाहिँ यसो भन्थे– “पाएका कुरालाई पाएनौं भन्न हुँदैन हजूर ईश्वरले सराप्छन् । बरु वितरणचाहिं सही ढङ्गले भएको छैन। यहाँ आफ्नो अर्काको छुट्याइन्छ । कसैलाई ओइरोमाथि पैरो । कसैलाई धौ–धौ ।”
सरकारी राहत पाउने लोभमा भूकम्प अगाडि सँगै रहेका एकै परिवार पनि छुट्टिएर बसे । एउटै छोरा बुहारी एकातिर अनि बाउआमा अर्र्काितर पनि भए । एउटा सिङ्गो घरलाई पनि उहिल्यैदेखि छुट्ट–भिन्न भएको भनी दुई–तीन वटा घर लेखाए । घरमा गाँसेको लाफा वा पालीलाई पनि छुट्टै घर लेखाए । यो हुँदैन भन्दा झगडा गर्न तम्सिए । नपुरिएको अन्नलाई पनि यति मुरी, यति बोरा पुरिएको भनेर जबर्जस्त लेख्न लगाए ।
राहत वितरणको नाममा कतिपयले दाताहरूसँग मागेर कुम्ल्याए पनि होलान् । तर धेरै जसोले मान्छेहरूका पीडामा मलम नै लगाए । आपत–विपत, दुःख र समस्यामा मान्छेलाई सहयोग गर्नुपर्छ । दान गर्नुपर्छ भन्ने आध्यात्मिक, मानवीय र सामाजिक चेतनाले धेरै नै काम ग¥यो । देश गरीब भए पनि नेपाली मनहरू दानशील छन् । नेपाली हातहरू सहयोगी छन् भन्ने कुराको प्रमाणित भयो ।
यो विपतको घडीमा राष्ट्रिय सेना र प्रहरीको भूमिका त अतुलनीय नै र≈यो । यी बाहेक विभिन्न सामाजिक संघसंस्था, के कलाकार, के कर्मचारी यी सबैले जनताका आहत मनहरूमा राहत थप्ने काम गरे । कसैले घर, टहरा बनाइदिए । कसैले स्कूल बनाइदिए । कसैले शौचालय ठड्याइदिए । अनि धेरैले जोखिम मोलेरै भए पनि निकै धराप भएका घर टहराहरू भत्काइदिए ।
नेपालीहरूको यो अभूतपूर्व एकता, सहिष्णुता र मानवीय प्रेम यही विपतको घडीमा दखियो । मान्छे–मान्छेबीचको वैमनष्यता, ईष्र्या र जातीय अहम् खोइ कता अन्तै भागे जस्तो लाग्यो । कहिल्यै नमिल्ने राजनीतिक पार्टीहरू पनि यो प्राकृतिक प्रकोपको समस्या विरुद्ध लड्न एक ठाउँमा आए । गला मिलाए । विदेशी दाता राष्ट्र र संस्थाहरूको सहयोग पनि त्यस्तै उल्लेख्य रह्यो ।
तर कतिपय विदेशी संस्थाहरूले यो विपतको घडीमा अनेक प्रलोभन देखाएर धार्मिक प्रभाव फैल्याउने चेष्टा पनि गरे । क्रिश्चियनहरूले आफ्नो धर्ममा लाग्नेहरूलाई मात्र बोराका बोरा चामल, तेल, दाल अरूले देख्ने गरी बाँडे । “यो धर्ममा लाग । यो भूकम्प त के ठूलाठूला विपत्तिले पनि छुँदैन । भगवान् यशुले सब ठीक गर्नुहुन्छ,” भनेर गाउँ बस्तीका निमुखा, गरिब र अनजान मान्छेहरूलाई प्रभावमा पार्ने कोशिस गरे ।

जिन्दगीको लामो समय गाउँघरमै बितेको हुनाले गाउँघर प्यारो लाग्नु स्वभाविक हो । यो भूकम्पले गर्दा एक महिनासम्म नुवाकोटका गाउँबस्ती चाहार्ने मौका पाइयो । महारानी डिही, कुमाल गाउँ, इनारपाटी आदि ठाउँहरूमा एक महिना खटिएर काम गर्दा गाउँले मान्छेहरूसँग नजिक भएर दुःख–सुखको अनुभूतिहरू साट्न पाइयो। भूकम्पले थर्किएका र चर्किएका मन बोकेर शिथिल भएका गाउँका बूढाबूढीहरूसँग बात मार्ने मौका पाइयो। उहाँहरूका पुराना कुराहरू, जिन्दगीका कथाहरू सुन्न पाइयो । महारानी डिहीका धन बहादुर कुमाल छयासी वर्ष पुगे पनि तन्दुरुस्त थिए । त्यो बेलासम्म केही रोग नलागेका बरु सम्पूर्ण गाउँघर ठमठमती चहार्ने ती बूढाले नब्बे सालको भुइँचालोको कथा यसरी सुनाए–
“ऊ बेला हजूर म १२ बर्खको थिएँ । नब्बे सालको भुइँचालोमा हामी केटाकेटी त्रिशुलीको किनारमा वस्तु चराउँदै थियौं । माघको दिन वस्तुभाउहरू बाहिर बारीमै थिए । दिन एक्कासी धमिलिंदै आयो । हामी डरायौं । बिस्तारै–बिस्तारै पूरै रात परेजस्तै भयो । चराचुरुङ्गीहरू कराउन थाले । गाईवस्तुहरू बाँ–बाँ र बुँ–बुँ गर्दै उफ्रिन थाले । कुकुरहरू भुक्न थाले । नभन्दै जिमिन हल्लिन थालो । घरहरू डरलाग्दो गरी हल्लिए । बाँसझ्याङ र बारीका पाटाका रुखहरूले पूरै भुइँ छोए । मान्छेहरू आत्तिएर रुँदै कराउँदै घरबाहिर भाग्न थाले । हेर्दाहेर्दै घरहरू ढल्न लागे । ऊ बेला जुद्ध शमशेरको राज थियो । जुद्ध शमशेर हौदामाथि चढेर आए । बाटाभरि मान्छेहरू जयजयकार गर्दै उभिएका थिए । मैले पनि मान्छेको माझमा पसेर जय–जय भनें । जुद्ध शमशेरले ढ्याके पैसा छर्दै गए । सात–आठवटा ढ्याके पैसा मेरा हातमा पनि परो । खुसीले उफ्रिंदै घर आएँ ।”
महारानी डिहीको ठीक तल लमतन्न बसेको खम्पा क्याम्प र परपरसम्म फैलिएको टारी खेत । नजिकै त्रिशुली नदी बगेको । आफ्नो काम सकेपछि वा फुर्सदको बेला स्थानीय सुमन सडौला र वासुजीसँग देवीघाट, नुवाकोट दरवार, वेत्रावती जस्ता ठाउँहरूमा डुलें । एक दिन मित्र होमशंकर बाँस्तोलाजीको आग्रहमा पहिरोको बाटो छिचोल्दै धुन्चे पनि गएँ । जेठको महिना धुन्चेमा ऐंसेलु पहेंलपुर भएर पाकेका । दुई दिनसम्म जङ्गलमा पसेर साथीहरूसँग बेस्मारी ऐंसेलु खाइयो ।
प्राकृतिक प्रकोपहरू विनाशमात्र लिएर आउँदैनन् । तिनले परिवर्तनको सङ्केत र नव–निर्माणको अवसर पनि बोकेर आएका हुन्छन् । यो भूकम्पले विनाश त ठूलै ग¥यो, साथसाथै यसले मान्छेको चेतनामा पनि परिवर्तन ल्याइदियो । मान्छे–मान्छे बीचको सम्बन्धको सङ्कुचनलाई भत्काएर फराकिलो पारिदियो । बिग्रे भत्केका कुराहरूलाई पुनः निर्माण गर्दै नव–निर्माणको अवसरको ढोका पनि खोलिदियो । निजी स्वार्थहरूलाई त्यागी सेवा नै ठूलो धर्म हो, परोपकार नै पुण्य हो भन्ने हाम्रो धर्म र अध्यात्मले सिकाएको पाठको पुनः स्मरण गराइदियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...