Admission Open

यात्राका फरक रङ्गहरू

पुस्तक समीक्षा


# रमेश प्र. सागर

मानिसको जीवनमा चाहेर वा नचाहेरै पनि भ्रमण गर्नुपर्ने अवस्था आउँछ । व्यावसायिक सिलसिलामा वा ऐच्छिक रूपमा गरिने त्यस्ता भ्रमणका व्यक्तिपिच्छे स्थानविशेष र पृथक् अनुभूति हुनु स्वभाविक हो । एकठाउँबाट अर्को ठाउँमा हुने वा गरिने जुनसुकै भ्रमण अथवा यात्राका फरक फरक अनुभूतिहरूले मानिसका अवधारणा परिवर्तन ल्याउँछन् नै, साथै नवीन चेतनाको उद्वोधनसमेत हुनपुग्छ । त्यसैले भ्रमण वा यात्राका क्रममा उद्वोधित चेतनाले मानिसका रुढ अवधारणामा परिवर्तन ल्याउँछन् र ल्याउनसक्ने खुवी राख्छन् । जसमा आधारमा मानिसका धारणा मात्र नभई जीवनको लक्ष्यसमेत फेरिन सक्छन् ।

यात्राका हुन् वा परिस्थिति विशेष हुने व्यक्तिका कतिपय अनुभूतिहरू चीरकालसम्म अविस्मरणीय हुन्छन् । व्यक्तिहरू आफ्ना यात्राका विशेष अनुभूतिहरू कोही कसैलाई सुनाउन चाहन्छन् । कोही कोही भने अन्तरको आवाजलाई लिपिवद्ध गर्न रुचाउँछन् । त्यही आवाज पुस्तकमार्फत सार्वजनिक हुनपुग्छ । तिनै निजात्मक कुरा कहिलेकाहीँ अरुलाई उपयोगी पनि हुनसक्छन् । तिनै अविश्मरणीय सम्झनाहरूको लिपिवद्ध आकार निवन्धको स्वरूपमा व्यक्त हुँदा नियात्रा उपविधाको बिकास भएको हो । नेपाली साहित्यको समसामयिक भावधारामा हरेक विधाको आफ्नै किसिमले बिकास हुँदै आएको छ र नियात्रा उपविधामा आफ्नो उपस्थिति जनाउँदै आउनुभएका एकजना सर्जक हुनुहुन्छ प्रदीप सापकोटा ।

विविध यात्राका विविध अनुभूतिहरूलाई आफूमा मात्र सिमित नराखी अभिव्यक्तिमार्फत् सार्वजनिकीकरण गर्नुहुने नियात्राकार हन् प्रदीप सापकोटा । यिनको नवीनतम नियात्राकृति ‘यात्राका इन्द्रेणी रङ्ग’ हो र यसमा जम्मा चौधवटा यात्राकालीन निवन्धहरू समावेश गरिएका छन् । नेपाली साहित्यका कविता, नियात्रा र समीक्षामा कलम चलाउने प्रदीप सापकोटा पेशाले पर्यटन व्यावसायी हुन् । साथै कानुन पनि यिनको अर्को अध्यवसाय रहेको छ । सिर्जना र आजीविकामा सक्रिय तथा इमान्दार भएर समर्पित प्रदीप सापकोटाको प्रस्तुत कृतिलाई शाब्दिक बुक्स काठमाडौँले प्रकाशन गरेको हो ।

नियात्राकार प्रदीप सापकोटा लेखकीय इमान्दारीता भएका श्रष्टा भएको पुष्टि उनका रचनाहरूले गरेका छन् । यिनले सिर्जनामार्फत् मानवीय प्रवृत्तिहरू,बाध्यता विवशताहरूका यथार्थ अनि, गुण अवगुणहरू केलाउँदै आफ्ना धारणा प्रस्तुत गरेका छन् । त्यतिमात्र नभई आफु पुगेका स्थानहरूका सामाजिक, आर्थिक, सांस्कृतिक र ऐतिहासिक पक्षहरूको सूक्ष्म अध्यायन यिनका नियात्रामा पाईन्छन् । यिनका रचना पठनीय गुणले युक्त र प्रचुर मात्रामा सूचनाप्रदसमेत छन् । सहयात्राको आनन्दानुभूति उनका रचनाहरूको अर्को उल्लेख्य पक्ष हो ।

रचनाहरू पठन गर्दा पाठक सर्जकले बुनेको कथ्यसूत्रमा आवद्ध हुँदै यात्रामा सँगसँगै डोरिँदै जान्छ । यो खुवी तथा सक्षमता यिनमा देखिन्छ र पनि लेखनशैलीले निजात्मक बाटो सफा पार्न अझै केही मेहेनत खोजेको भेटिन्छ । कतै प्रस्तुतिले सजिला वाक्य गठन खोजेको भेटिन्छ भने कतै भाषिक परिष्कार खट्किन्छ । जेभए पनि सर्जक प्रदीप सापकोटा आफ्नो लेखनीलाई सक्दो सरल र सरस बनाउने चेष्टामा रहेका भेटिन्छन् । नियात्राकार प्रदीप सापकोटाको लेखनशैली पनि बेग्लै छ । शैलीगत वैशिष्ठ्य निर्माणमा यिनको प्रयास उल्लेख्य रहेको छ । यसै फरक शैलीगत प्रस्तुतिले यिनको यो कृति सहज र सुबोद्यसमेत बनेको छ ।

यिनका कुनै कुनै निवन्धले दोहोर्याउँदै पूनः त्यही परिवेशमा पुर्याउँछन् जहाँ पाठक (लेखकसँगै) पहिले नै पुगिसकेको हुन्छ । अर्थात् निवन्धकारले एउटै यात्राका एकभन्दा बढी निवन्ध रचना एउटै सँगालोमा प्रस्तुत गरेका हुनाले पाठकलाई पठन सहजताको छुट मिल्ने प्रसङ्गहरू भेटिन्छन् । प्रस्तुत ‘यात्राका इन्द्रेणी रङ्ग’ नियात्रासङ्ग्रह देश–परदेशका पाँच किसिमका परिवेशमा रचित चौधवटा निवन्ध रचानाहरूको कायाकल्पबाट तयार पारिएको छ । कुनै कुनै निवन्धमा सर्जकको कविहृदय पोखिएको छ । कुनै कुनैमा वस्तुपरक लेखनले जितेको भेटिन्छ भने कुनैमा स्वच्छन्द आत्मपरक वा निजात्मक प्रस्तुतिको शैली सबल भेटिन्छ । लेखकभित्रको आदर्श खुल्न नचाहेको हो कि ? जस्तो पनि भान पर्छ कतै (पतैयामा दुःखी आमा) । हैन, लेखक खुलस्त छन् भन्ने पनि लाग्छ (सोलुमा पौडी खेल्दा) कतै । यस्ता केही प्रतिनिधि सीमा (?) बाहेक समग्रमा प्रस्तुत ‘यात्राका इन्द्रेणी रङ्ग’ नियात्रासङ्ग्रह पठनीय रहेको छ । साथै नियात्राकार प्रदीप सापकोटाको लेखकीय यात्रा समुज्ज्वल रहनेमा शङ्का छैन ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...