Admission Open

क्षयरोगका बिरामी पहिचान गर्न कठिन

दमौली : नेपालमा दैनिक १८९ क्षयरोगका बिरामी थपिने गरेको तथ्याङ्क रहे पनि तनहुँमा भने क्षयरोगका बिरामी पहिचान गर्न कठिन भएको छ । विगत एक वर्षकोमा कोभिड सङ्क्रमणका कारण क्षयरोगका बिरामी पहिचान गर्न कठिन भएको हो ।

कोभिड सङ्क्रमणका कारण कोभिड न्यूनीकरणमा खटिनुपर्दा क्षयरोगका बिरामी पहिचान गर्न नसकिएको जिल्ला स्वास्थ्य कार्यालयका अधिकृत कृष्णप्रसाद सुवेदीले बताउनुभयो । यद्यपि अशिक्षा, अज्ञानता र भौगोलिक कारणले पनि क्षयरोगी उपचारको पहुँचमा आउन नसकेको सुवेदीको भनाइ छ । “क्षयरोगी पहिचान गरी उपचारको पहुँचमा ल्याउनुपर्ने विद्यमान चुनौती छ”, सुवेदीले भन्नुभयो, “त्यसका लागि सबै पक्षको सहयोग अपरिहार्य हुन्छ ।”

सन् २०५० सम्म नेपाल क्षयरोगविहीन बनाउने लक्ष्य छ । त्यसका लागि क्षयरोगका बिरामी पहिचान गरी उपचार गर्नुपर्ने बाध्यता रहेको सुवेदीले बताउनुभयो । “उपचारमा नरहेको एक क्षयरोगीले औसतमा १० देखि १५ स्वस्थ्य व्यक्तिलाई रोग सार्न सक्छ”, उहाँले भन्नुभयो, “सो तथ्याङ्कलाई घटाउन पनि नयाँ क्षयरोगीको पहिचान आवश्यक छ ।”

क्षयरोगी पहिचानका लागि कार्यालयले शङ्का लागेका व्यक्तिको घरमा पुगेर नै खकार सङ्कलन गरी प्रयोगशालामा परीक्षण गर्ने व्यवस्था मिलाएको छ । “दुई हप्तासम्म खोकी लागेका शङ्कास्पद व्यक्ति पत्ता लागे घरमै पुगेर खकार सङ्कलन गरी परीक्षणको व्यवस्था मिलाएका छौँ”, सुवेदीले भन्नुभयो । क्षयरोगी पहिचानका लागि कन्ट्याक्ट ट्रेसिङको व्यवस्था पनि छ । सुवेदीका अनुसार ६ महिनामा दुईपटक कन्ट्याक्ट ट्रेसिङ गरिन्छ । दुई महिनामा पहिलोपटक र ६ महिनाभित्र अर्को पटक गरी कन्ट्याक्ट ट्रेसिङको व्यवस्था मिलाइएको छ ।

सुवेदीका अनुसार क्षयरोगी भएको घरका पाँच वर्षमुनिका बच्चालाई क्षयरोग छैन भन्ने प्रमाणित भएको खण्डमा तीन महिनासम्म औषधि खुवाइने गरेको छ । “घरपरिवारका सदस्यबाट नसरोस् भन्नका लागि उनीहरूलाई पनि औषधि खुवाउने व्यवस्था मिलाइएको हो”, उहाँले भन्नुभयो ।

लुकेर बसेका क्षयरोगीलाई पहिचान गर्न नसकिए जोखिम बढ्ने जिल्ला स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्करबाबु अधिकारीले बताउनुभयो । “पछिल्लो एक वर्ष कोभिडका कारण समस्या भएको हो, तर जनशक्ति अभाव, अज्ञानता र अशिक्षा नै यसको मुख्य कारण हो”, अधिकारीले भन्नुभयो । अधिकारीका अनुसार लुकेर बसेका क्षयरोगी पत्ता लगाउन जन्तर भन्ने संस्थाले गाउँगाउँ पुगेर सहयोग गरिरहेको छ । “नियमित औषधि सेवन गरे क्षयरोग निको हुन्छ, यसको प्रचारप्रसार गर्दै क्षयरोगीलाई उपचारको पहुँचमा ल्याउनुपर्छ”, अधिकारीले भन्नुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...