Admission Open

ad place

क्षयरोग: झापामा ९० प्रतिशत निको

बनियानी, ११ चैत : झापामा क्षयरोग निको हुने दर उच्च रहेको पाइएको छ । यहाँ क्षयरोग निको हुने दर ९०.१ प्रतिशत रहेको छ । पछिल्लो समय जिल्लामा क्षयरोग निको हुने दर बढ्दै गएको स्वास्थ्य कार्यालय झापाका कार्यक्रम संयोजक जीवन चम्लागाईंले जानकारी दिनुभयो ।

आर्थिक वर्ष २०७६/७७ मा जिल्लामा ४०० महिला र ७१० पुरुष गरी एक हजार ११० क्षयरोगी फेला परेका थिए । चालु आव २०७७/७८ मा ३७३ महिला र ६३० गरी एक हजार तीन नयाँ क्षयरोगी फेला परेका छन् ।

जिल्लाको बिर्तामोड, दमक र मेचीनगर नगरपालिकामा क्षयरोग सङ्क्रमण धेरै रहेको संयोजक चम्लागाईंले बताउनुभयो । झापामा धुलाबारी स्वास्थ्य केन्द्र र मेची प्रादेशिक अस्पताल भद्रपुरबाट क्षयरोग परीक्षण हुँदै आएको छ । क्षयरोगको औषधि सबै सरकारी स्वास्थ्य संस्थाबाट निःशुल्क वितरण हुँदै आएको छ ।

नेपालमा वर्षेनी ४५ हजार नयाँ क्षयरोगी फेला पर्ने गरेका छन् । छ हजार ६०० को मृत्यु हुने गरेको चम्लागाईंले बताउनुभयो । उहाँका अनुसार नेपालमा दैनिक १२३ नयाँ सङ्क्रमित फेला पर्ने गरेका छन् । अठार सङ्क्रमितको मृत्यु र ३४ सङ्क्रमित सम्पर्कविहीन भएका छन् । विश्वबाटै सन् २०५० सम्ममा क्षयरोग अन्त्य गर्ने लक्ष्य छ ।

यसैबीच झापाको बिर्तामोडमा आज विश्व क्षयरोग दिवस मनाइएको छ । ‘सङ्केत समयको क्षयरोग अन्त्यको’ भन्ने नाराका साथ बिर्तामोड नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा दिवस मनाइएको हो । बिर्तामोड नगरपालिका प्रमुख ध्रुवकुमार शिवाकोटीका अध्यक्षतामा भएको कार्यक्रममा क्षयरोग निवारणमा योगदान पु¥याउने चार जनालाई सम्मान गरिएको थियो ।

कार्यक्रममा सूर्योदय टेलिभिजनका पत्रकार तिलक योञ्जन, महिला सामुदायिक स्वास्थ्य स्वंम्सेविका गङ्गाकुमारी केसी, चारपाने स्वास्थ्य चौकीका कृष्णकुमारी अधिकारी, गरामनी स्वास्थ्यचौकीका राजेन्द्र निरौला, अनारमनी नगर अस्पतालका अजय विकलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा नगरप्रमुख शिवाकोटीले प्रतिनिधिमूलक रुपमा विकलाई सम्मान गरिए पनि क्षयरोग निवारणमा सबैको भूमिका गहन भएको बताउनुभयो । उहाँले ‘क्षयरोग निवारणमा सबै सचेत हुन आवश्यक छ’ भन्नुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...