Admission Open

घुम्ती शिविरमार्फत ८५ सञ्चारकर्मी तथा पत्रकारले सेवा लिए

ताप्लेजुङ, ५ चैत : सूचना तथा प्रसारण विभागले हिमाली जिल्ला ताप्लेजुङमा सञ्चालन गरेको घुम्ती शिविर तथा क्षमता अभिवृद्धि कार्यक्रममार्फत ८५ सञ्चारकर्मी तथा पत्रकारले सेवा लिएका छन् । मङ्गलबारदेखि सदरमुकाम फुङ्लिङमा सञ्चालित शिविरमार्फत ताप्लेजुङ र छिमेकी जिल्ला पाँचथरका समेत सञ्चारकर्मी एवं पत्रकारले सेवा लिएका हुन् । शिविरमा ४० सञ्चारकर्मी तथा पत्रकारले नयाँ प्रेस पास लिएका छन् भने एकको पुरानो प्रेस पास नवीकरण भएको छ । सेवा प्राप्त गर्नेमध्ये ४० जनाले भने क्षमता अभिवृद्धि तथा पुनर्ताजगी तालीम लिएका छन्

यस्तै तीन वटा नयाँ अनलाइन दर्ता भएको छ भने तीन अनलाइन थप प्रक्रियाका लागि विभागमा पठाइएको छ । उक्त अनलाइन सञ्चारमाध्यमको विभागबाटै दर्ता गरी जिल्ला हुलाक कार्यालयमार्फत दर्ता प्रमाणपत्र प्राप्त गर्न सकिने व्यवस्था मिलाइएको छ । शिविरमा एक जनाको १० वर्षे पत्रकारितासम्बन्धी अनुभवसमेत प्रमाणीत गरिएको छ । यो कार्यक्रम मुख्यतः हिमाली जिल्ला ताप्लेजुङ र आसपासका जिल्लाका सेवाग्राहीको सहजताका लागि लक्षित रहेकोे विभागका निर्देशक सुमन बज्राचार्यले जानकारी दिनुभयो । घुम्ती शिविर बुधबार सम्पन्न भएको छ भने क्षमता अभिवृद्धि तालीम आज समापन हुने बताइएको छ ।

यसअघि बाग्लुङ र रोल्पा जिल्लामा समेत यस्तै शिविर आयोजना भइसकेको छ । ताप्लेजुङ्गमा सम्पन्न भएको कार्यक्रम यस वर्ष सम्पन्न तेस्रो कार्यक्रम हो । यसपछि लमजुङमा घुम्ती शिविर आयोजना हुने बताइएको छ । हिमाली जिल्लामा यसरी सञ्चालित तालीम र घुम्ती शिविरबाट यहाँका पत्रकार एवं सञ्चारमाध्ययमलाई सेवा लिनका लागि सहज भएको भन्दै कार्यक्रम आयोजकप्रति पत्रकार महासङ्घ ताप्लेजुङ शाखाका कार्यवाहक अध्यक्ष चन्द्र पन्धाक (प्रयास) ले आभार व्यक्त गर्नुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...