वाग्मती प्रदेशको राजधानी हेटौँडामा सम्पन्न स्थानीय तह शहीद स्मृति गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको
उपाधि त्रिभुवन आर्मी क्लबले हात पारेको छ । शनिबार मकवानपुर–११ सँग भएको फाइनल खेलमा १–०
गोलअन्तरले आर्मी विजयी भएको हो ।
खेलको ३९औँ मिनेटमा आर्मीका टेकबहादुर बुढाथोकीले गरेको गोल नै खेलमा निर्णायक बन्यो । विजयी आर्मी
क्लबले रु १० लाख, शिल्ड, मेडल र प्रमाणपत्र हात पारेको छ । त्यसैगरी उपविजेतामा चित्त बुझाएको
मकवानपुर–११ ले रु पाँच लाख, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
विजयी टिमलाई अखिल नेपाल फुटबल सङ्घका अध्यक्ष कर्माछिरिङ शेर्पा, नेपाली कांग्रेस वाग्मती प्रदेश संसदीय
दलका नेता इन्द्रबहादुर बानियाँ, हेटौँडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतलगायतकाले संयुक्तरूपमा
पुरस्कार वितरण गर्नुभयो ।
फाइनल खेलमा आर्मीका टेकबहादुर बुढाथोकी म्यान अफ दी म्याच घोषित हुनुभयो । उहाँले रु १० हजार प्राप्त
गर्नुभयो । आयोजक मकवानपुर–११ का कप्तान अशोक बराल खेल अवधिभरमै सर्वोत्कृष्ट खेलाडी घोषित हुनुभयो ।
त्यसैगरी मकवानपुर–११ का अमिर श्रेष्ठ उत्कृष्ट खेलाडी बन्न सफल हुनुभयो । उहाँले बुलेट मोटरसाइकल प्राप्त
गर्नुभयो ।
