Admission Open

‘महासङ्घमा हामी’ पुस्तक सार्वजनिक

नेपाल पत्रकार महासङ्घ वाग्मती प्रदेशका दश जिल्लाका अध्यक्षको साझा प्रयासमा ‘महासङ्घमा हामी’ नामक पुस्तक आज सार्वजनिक गरेको छ । नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष गोविन्द आचार्य, धुलिखेल नगरपालिका प्रमुख अशोक ब्याञ्जु र महासङ्घका महासचिव रमेश विष्टलगायतले काभ्रेपलाञ्चोकको धुलिखेलमा सो पुस्तक विमोचन गर्नुभएको हो ।

कार्यक्रममा बोल्नुहुँदै महासङ्घका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले महासङ्घ प्रत्यक्ष निर्वाचन प्रणालीमा जाने भनेर घोषणा गरेपछि पहिलो पटक निर्वाचनमा जाने भएकाले त्यसलाई व्यवस्थित गर्न सबै पत्रकारले सहयोग गर्न आग्रह गर्नुभएको छ । महासङ्घलाई थप व्यवस्थित बनाउने समावेशी कोटालाई परिस्कृत गर्न सफल भएको उहाँले बताउनुभयो ।
त्यससँगै प्रेस स्वतन्त्रता, मिडियाको हित, नागरिक अधिकार, मानवअधिकार कानूनी राजको विषयमा निरन्तर आवाज उठाइरहन आवश्यक भएकाले महासङ्घलाई एकपक्ष वा अर्को पक्षमा भन्दा पनि साझा ढङ्गले काम गर्नको लागि पहल गर्नसक्ने, विकास गर्नका साथै महासङ्घलाई अझ बलियो बनाउन अब हुन लागेको निर्वाचनमा महासङ्घलाई राम्रोसँग बुझ्नेखालकालाई जिम्मा दिन आवश्यक रहेको उहाँले बताउनुभयो ।

महासङ्घलाई यो वा उ भन्दा पनि महासङ्घको साझा चरित्र, गरिमा जोगाउने र यसलाई अघि बढाउने, उद्देश्यमा क्रियाशील रहने खालको व्यक्तिलाई छान्न उहाँले पत्रकारलाई आग्रह गर्नुभयो । महासङ्घमा भएका सदस्यलाई पनि जिल्लामा सार्वजनिक सुनुवाइ गरेरै सदस्य नवीकरण गर्न यी व्यक्ति पत्रकार क्रियाशील छन् कि छैनन् भनेर छुट्याउन जिल्ला शाखालाई पत्र नै पठाइसकेको बताउनुभयो । क्रियाशीलता छुट्याउन ३५ जिल्लामा सार्वजनिक सुनुवाइ नै गरिसकेको बताउनुहुँदै उहाँले पत्रकारले कति ठीक र कति बेठीक गरे भन्ने कामको बारेमासमेत शुरुवात गरेको बताउनुभयो ।

महासङ्घको पहल तथा पत्रकार सम्बद्ध विभिन्न सङ्घ, सङ्गठनको सहयोगमा करीब १४ वटा मिडिया हाउसमा कार्यरत पत्रकारको समस्या महासङ्घको पहलमा समाधान गर्नसकेको अध्यक्ष आचार्यले बताउनुभयो । त्यस्तै महासङ्घका अहिलेका समितिले औद्योगिक ऐन संशोधन गरेर त्यसको अनुसूचीमा मिडिया उद्योगलाई राष्ट्रिय सेवामूलक उद्योग बनाउन सफल भएको, २०१५ सालदेखि उठेको मुद्दा विज्ञापन ऐनमा समानुपातिक विज्ञापन बाँड्ने ऐनमा नै व्यवस्था गर्न सफल हुनु, पत्रकारको कल्याण कोष स्थापनामा सफलतालगायतका राम्रो काम गर्न सफल भएको उहाँको भनाइ छ ।

सो क्रममा उहाँले अहिलेसम्ममा पत्रकार महासङ्घको सदस्यता लिएकामध्ये प्रहरीमा कार्यरत २३ जना हटाएको, १४३ जना निजामती कर्मचारीलाई महासङ्घको सदस्यताबाट हटाएको र करीब १५० जना जननिर्वाचित भएका पत्रकार महासङ्घको सदस्यबाट हटेको बताउनुभयो ।
अझै केही जननिर्वाचित प्रतिनिधि नहटेको उल्लेख गर्नुहुँदै केन्द्रले गरेको निर्देशन अनुसार जिल्ला र प्रदेशबाट त्यस खालको व्यक्तिलाई पनि सदस्यबाट हटाउन आग्रह गर्नुभयो । कार्यक्रममा नेपाल नगरपालिका सङ्घका अध्यक्ष एवं धुलिखेल नगरपालिका प्रमुख अशोक ब्याञ्जुले नेपाल पत्रकार महासङ्घको नेतृत्वले संस्थापनदेखि अहिलेसम्मको अध्यक्षले आफ्नो कार्यकालमा के काम गर्यो भनेर अभिलेखिकरण गर्न आवश्यक रहेको बताउनुभयो । प्रज्ञा, शक्ति र एकता आजको आवश्यकता भएकाले त्यसतर्फ ध्यान दिन उहाँले महासङ्घ नेतृत्वलाई आग्रह गर्नुभयो ।

महासङ्घका महासचिव रमेश विष्टले महासङ्घले दस्तावेज निर्माण गर्ने क्रममा कमजोरी रहेको उल्लेख गर्नुहुँदै वाग्मती प्रदेशका दश जिल्लाका अध्यक्षले तयार गरेको पुस्तकले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो । महासङ्घमा कामी पुस्तकले सिङ्गो महासङ्घलाई दस्तावेजीकरण गर्न पे्ररित गर्ने भएकाले महासङ्घका अध्यक्षले गरेको कामले सबै शाखालाई उत्प्रेरित गर्ने उहाँले बताउनुभयो ।

सो क्रममा उहाँले श्रमको अभ्यासलाई सशक्त ढङ्गले अगाडि बढाउन आवश्यक रहेको उल्लेख गर्नुहुँदै जिल्ला, प्रदेश र केन्द्रमा श्रम डेस्कको स्थापना गरेर काम गर्नुपर्नेमा जोड दिनुभयो । कुन जिल्लाको कुन ठाउँमा श्रम अधिकार प्राप्त गर्ने सवालमा के भइरहेको छ भन्ने जानकारी लिनको लागि सो डेस्कले भूमिका खेल्ने भएकाले त्यसतर्फ ध्यान दिन आवश्यक रहेको उहाँले बताउनुभयो ।

कार्यक्रममा महासङ्घका पूर्व केन्द्रीय सदस्य बालकृष्ण बस्नेत, कृष्ण गिरी, द्वारिका काफ्ले र वाग्मती प्रदेश उपाध्यक्ष यदुनाथ गौतमले आ–आफ्नो धारणा राख्नुभएको छ । वाग्मती प्रदेशका दश जिल्लाका महासङ्घ अध्यक्षले जिल्लाको अवस्थिति, इतिहास, र त्यसभित्रको पत्रकारिताको अवस्था कस्तो छ भन्ने कुरालाई समेटेर ‘महासङ्घमा हामी’ नामक पुस्तक प्रकाशनमा ल्याएको नेपाल पत्रकार महासङ्घ काभ्रेपलाञ्चोकका अध्यक्ष मोतिराम तिमल्सिनाले बताउनुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...