Admission Open

खोटाङमा अन्तर वडास्तरीय फुटबल प्रतियोगिता सोमबारबाट शुरु हुँदै

खोटाङ, १० फागुन: दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङमा ‘जित्नलाई होईन सिक्नलाई खेलकुद’ भन्ने नाराका साथ अन्तर वडास्तरीय फुटबल प्रतियोगिता सोमबारबाट शुरु हुँदैछ । वडा कार्यालय र स्थानीय नमूना स्पोर्टस क्लबको आयोजनामा यही फागुन १५ गतेसम्म सञ्चालन हुने ‘मझुवागढी रणजितमान राई पुरुष प्रथम च्यालेञ्ज कप’ फुटबल प्रतियोगितामा खोटाङसहित छिमेकी जिल्लाका कुल २१ टिमले प्रतिष्पर्धा गर्दैछन् ।

लफ्याङको छिवामा निर्माणाधिन खेलमैदानमा सञ्चालन हुने उक्त प्रतियोगिता  १० गते बिहान ११ बजे प्रदेशसभा सदस्य रामकुमार राई ‘पासाङ’ले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । आयोजकका अनुसार पहिलो खेल साकेला गाउँपालिका–२ रतन्छा र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाबीच हुने कार्यक्रम रहेको छ ।

प्रतियोगितामा प्रथम स्थान प्राप्त गर्ने टिमले नगद रु. १ लाख ५५ हजार, दोस्रोले रु. १ लाख १ हजार र सेमिफाइनलमा पुग्ने दुई टिमले समान रु. ३१/३१ हजार नगद पुरस्कार प्राप्त गर्ने आयोजक समितिका संयोजक एवम् नमूना स्पोर्टस क्लवका अध्यक्ष काजीमान राईले जानकारी दिनुभयो । प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई रु. ५ हजार ५००, उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिड–फिल्डर, प्रशिक्षक र अनुशासित टिमलाई नगद रु ५/५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् ।

फुटबल प्रतियोगिता उद्घाटन कार्यक्रमको अवसरमा जिल्लामा क्रियाशिल एकजना पत्रकारलाई नगद रु. ५ हजार ५ सय ५५ रासीको खेलकुद पत्रकारिता पुरस्कार प्रदान गरिने पनि आयोजकले जनाएका छन् । जिल्लाकै खेलाडीलाई पहिलो प्राथमिकता दिने उद्देश्यले आयोजना गरिएको फुटबल प्रतियोगितामा बढीमा तीनजना बाह्य जिल्लाका खेलाडीलाई सहभागी गराउन पाइने व्यवस्था गरिएको छ ।

प्रतियोगिताको उद्घाटन कार्यक्रममा चर्चित गायक राजेशपायल राई, गायक रेवत राई, विश्व लिम्बू लगायतका कलाकारको साँगीतिक प्रस्तुतिसमेत रहने आयोजक समितिका संयोजक राईले जानकारी दिनुभयो । ‘

स्थानीय बासिन्दाको पहलमा निर्माण गरिएको उक्त खेलमैदानमा पहिलो पटक फुटबल प्रतियोगिता आयोजना गर्न लागिएको हो ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...