Admission Open

कोरोना खोपबाट पर्यटनले गति लिने विश्वास

पोखरा, १५ माघ विश्वलाई त्रासमय बनाइरहेको कोभिड– १९ को खोप नेपालमा भित्रिएसँगै धेरैमा उत्साह छाएको छ । कोरोनाको अन्त्य कहिले र कसरी होला भन्ने आशङ्का र अन्योलमा रहेका सर्वसाधारण खोप आएपछि आशावादी हुन थालेका छन् ।

गण्डकी प्रदेशमा पनि कोभिड–१९ विरुद्धको खोप शुभारम्भपछि यस क्षेत्रका सर्वसाधारणसँगै पर्यटन व्यवसायीले पनि खुशी व्यक्त गरेका छन् । कोभिड– १९ ले सबैभन्दा नराम्रो असर पारेको पर्यटन क्षेत्रमा खोप कार्यक्रम शुभारम्भपश्चात् यस क्षेत्रमा पर्यटन आगमन सहज हुने गति लिने विश्वास पर्यटन व्यवसायीको छ ।

आन्तरिक पर्यटन पुनरुत्थान समितिका संयोजक अग्नि कँडेलले कोभिड– १९ का कारण लामो समयदेखि व्यवसाय ठप्प हुँदा आर्थिक र मानसिक समस्या झेलिरहेका व्यवसायीमा खोप कार्यक्रम शुरुपश्चात् एक प्रकारको उत्साह देखिएको बताउनुभयो । “कोरोना सङ्क्रमण देखापरेको शुरुका दिन निकै तनावपूर्ण रहे, तत्कालीन समयमा मानवीयता हराएको हो कि भन्ने पनि लागेको थियो, मान्छेमा निकै त्रास थियो, यस्तो अवस्थामामा खोप आउनु र अग्रपङ्क्तिमा कार्यरतलाई प्राथमिकता दिनु निकै सकारात्मक हो”, उहाँले भन्नुभयो । उहाँले कोरोनाका कारण पर्यटन व्यवसायीमा व्यक्त गर्नै नसकिने असीमित पीडा रहेको उल्लेख गर्दै खोपले यस क्षेत्रमा पर्यटन चलायमान हुने आशा जगाएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “खोप आयो र गण्डकी प्रदेश सरकारले व्यवसाय जीवनरक्षा कोष कार्यक्रम पनि शुभारम्भ गरेको छ यसको कार्यान्वयनमा पनि जोड दिनुपर्दछ ।” उहाँले खोप शुभारम्भपश्चात् पर्यटकले पनि भयरहित तरिकाले घुम्न डुल्न योजनामा बनाउन सक्ने बताउनुभयो । संयोजक कँडेलले सबैलाई खोप निःशुल्कभन्दा पनि आर्थिक हैसियत राम्रो भएकाले पैसा तिरेर लगाउँछु भने सरकारले त्यसको व्यवस्था गर्नुपर्ने र कमजोर आर्थिक अवस्था र दुरदराजका नागरिकलाई प्राथमिकता दिएर खोप लगाउन पनि आग्रह गर्नुभयो ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपी भट्टराईले नेपालमा यति छिटो खोप ल्याएर अग्रपङ्क्तिमा खटिएकालाई प्राथमिकता दिनु सरकारको निकै सकारात्मक कार्य भएको बताउनुभयो । “नेपाल जस्तो मुलुकमा पनि यति छिटो खोप आएर लगाउनु निकै सकारात्मक कार्य हो”, भट्टराईले भन्नुभयो । उहाँले पर्यटन क्षेत्र पनि सेवा दिने व्यवसाय भएकाले यस क्षेत्रका लक्षित समूहलाई पनि प्राथमिकतामा राखेर खोप दिनुपर्ने बताउनुभयो ।

पर्यटन क्षेत्रमा खर्बौंको लगानी भएकाले बाह्य पर्यटक ल्याउन पनि सरकारले पर्यटनमैत्री वातावरणमा पहल गर्नुपर्ने उहाँको भनाइ छ । “अब खोप आइसक्यो खोप लगाएका पर्यटकलाई ‘अन अराइभल भिसा’ दिनुपर्छ । पिसिआर रिपोर्ट पनि २४ घण्टामा आउने व्यवस्था सरकारले गर्नुपर्छ”, उहाँले भन्नुभयो । उहाँले विदेशबाट आउने पर्यटकलाई सात दिन क्वारेन्टिमा बस्नुपर्ने नियम व्यावहारिक नभएको बताउनुभयो । उहाँ भन्नुहुन्छ, “नेपालमा सात÷सात दिनसम्म क्वारेन्टिनमा बस्ने गरी को पर्यटक आउँछन् । अब खोपसमेत आएर सामान्य बन्दै गएको अवस्थामा सरकारले पर्यटनमैत्री नीति कार्यक्रमा जोड दिएर सहज वातावरणको लागि पहल गर्नुपर्छ ।”

उहाँले अहिले पनि धेरै विदेशी पर्यटक नेपाल घुम्न आउन खोजिरहे पनि सरकारको झण्झटिलो नीतिले पर्यटकले बुकिङ रद्द गर्ने गरेको बताउनुभयो । “सरकारले सबै क्षेत्र खुला गरेर यति छिटो खोपसमेत ल्याइसकेको छ अब पर्यटक आगमनलाई पनि सहज प्रक्रिमा ल्याउने कार्यमा जोड दिनुपर्छ”, भट्टराईले भन्नुभयो । उहाँले सरकारबाट ल्याइएको राहत प्याकेज कार्यक्रम कार्यान्वयन हुन ढिला भएको जनाउँदै ५० अर्बको व्यवसाय सञ्चालन कोष तथा एक खर्बको पुनःकर्जा कोषलाई तत्काल कार्यान्वयनमा ल्याउनसमेत माग गर्नुभयो ।

पश्चिमाञ्चल होटल सङ्घका अध्यक्ष विकल तुलाचनले पनि सरकारले खोप कार्यक्रम शुरुआत गरेकामा प्रशंसा गर्नुभयो । उहाँले भन्नुभयो, “यो निकै सकारात्मक कार्य हो, अब यसलाई छिटोभन्दा छिटो सबैको पहुँचमा पु¥याउन सरकारले तदारुकता देखाउनुर्छ ।” उहाँले पर्यटन क्षेत्रका मजदूरलाई पनि सरकारले प्राथमिकतामा राखेर खोप लगाउन पहल गर्नुपर्ने बताउनुभयो । “होटल रेष्टुरेन्टका मजदूरमा पनि जोखिम रहन्छ तसर्थ उनीहरु सम्पूर्णलाई खोप लगाउन सकियो भने पर्यटकहरुले पनि सुरक्षित महसुस गर्छन् सकारात्मक सन्देश पनि जान्छ”, उहाँले भन्नुभयो । उहाँले कोरोनापछिको अवस्थालाई दृष्टिगत गरी पर्यटनमैत्री वातावरणमा सरकारले ध्यान दिएर विदेशी पर्यटक ल्याउन पहल गर्नुपर्ने बताउनुभयो ।

गण्डकी प्रदेश सरकारले कोभिड–१९ खोप अभियानअन्तर्गत पहिलो चरणमा स्वास्थ्यकर्मी, स्वास्थ्य स्वयंसेविका, अस्पतालका फोहरमैला व्यवस्थापनमा खटिने कर्मचारीलाई प्राथमिकतामा राखेर १७ हजार ६३० जनालाई कोभिशिल्ड खोप दिइने जनाएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालका अनुसार प्रदेशका ११ वटै जिल्लास्थित जिल्ला अस्पतालमा माघ १८ गतेसम्म पाँच दिन पहिलो चरणको खोप कार्यक्रम सञ्चालन हुनेछ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...