NIC ASIA

Mangalam Pipes

स्कुल जाने एक हुल नानीहरू

कथा

# टङ्क भट्टराई

सेतो सर्ट, निलो पयन्ट, छालाका काला जुत्ता, घाँटीमा टाइ लाएका साना केटाहरू र
सेतो सर्ट, निलो फ्रक, छालाका काला जुत्ता र घाँटीमा टाइ बाँधेका साना केटीहरू ।

काठमाडौँ सहरको एउटा बोर्डिङ स्कुलमा पढ्ने ती एक हुल केटाकेटीहरू म दिनैपिच्छे देखिरहन्थेँ ।
ती एक हुल स्कुले नानीहरू मेरै अफिसको नजिकको बाटो हिँड्थे ।
म तिनीहरूलाई दिनैपिच्छे नहेरिरहन सक्तैनथेँ । तिनीहरूलाई एक दिन देख्न पाइनँ भने म सा¥है छट्पटिन्थेँ र त्यो दिन सा¥है अलिनो लाग्थ्यो । यस्ता दिनहरू प्रायः विदाका दिन पर्थे ।
ती फ्रक लाउने साना नानीहरू देख्ता म गाउँको स्कुल जाँदै गरेकी मेरी सानी छोरी सम्झन्थेँ । सट र पयन्ट लाउने साना बाबुहरू देख्ता गाउँको स्कुल जाँदै गरेको मेरो सानो छोरो सम्झन्थेँ । तर यी परे सहरका नानीहरू । उनीहरू परे पिछडिएका गाउँले नानीहरू । यिनीहरू र उनीहरूमा धेरै असमानता छ । आकाश र पातालको फरक छ । यिनीहरू एउटै कोठामा बसेर टिभी, कम्प्युटरबाट विश्व नियाल्छन् । तर मेरो गाउँका ती अभागी केटाकेटीहरू आपूm पछि लगत्तै जन्मिएका र जन्मिँदै रहेका भाइ बहिनीहरू हेर्न, कोक्रामा लोहोरी गाउन, लामा बाहुलाले सिँगानका लत्का पुछ्न, स्कुलमा गएर खेलिरहन बाहेक अरू केही जानेका हुँदैनन् । मोहीसँग तिहुन बिनाको च्याँख्लाको भात खाएर पित्ले भुँडी हल्लाउँदै नाङ्गा खुट्टा स्कुल जान पाउनु उनीहरूको अहो भाग्य हो । त्यसैमा उनीहरू अपार खुसीले रमाउँछन् ।
सधैँ–सधैँ सहरका यी नानीहरू स्कुल गइरहेको देखिन्थे । खुसीका मिठा बाल हाँसोहरू छोड्दै स्कुलबाट फर्किरहेका देखिन्थे । टिपिन टाइममा पनि उनीहरूको छुट्टै समूह रमाइलो खेल खेलिरहेको हुन्थ्यो । त्यो उनीहरूको नियमित क्रम हो । नियमित दिनचर्या हो ।
उनीहरूको छुट्टै आफ्नो समूह थियो । उनीहरू अरूभन्दा भिन्न स्थानमा खेल्थे । सधैँ सँगै बसेर दिउँसोको नास्ता बाँडीचँुडी प्रेमपूर्वक खान्थे ।
म उनीहरूले खेलेको हेर्न मन पराउथेँ । उनीहरूको मिठो बालहाँसो मेरो अन्तरमनमा गएर ठोक्किन्थ्यो । चराको जस्तो उनीहरूको मिठो बोलीको झङ्कार मेरा नसा–नसामा फैलिन्थ्यो र मलाई त्यसले नयाँ स्पूmर्ति प्रदान गथ्र्यो । म कहिलेकाहीँ तिनीहरूको छेवैमा गएर उनीहरूसँग जिस्किन्थेँ । उनीहरूका कलिला बाल गाला हातले छुन्थेँ । उनीहरूलाई छुन पाउँदा मलाई छुट्टै आनन्द आउँथ्यो । बिहानीको झुल्के घामसँगै फक्रिएका फुलका कलिला थुङ्गाहरूलाई छोएजस्तो मिठो स्पर्शको अनुभूति हुन्थ्यो मलाई ।
उनीहरू के के हो के के नयाँ खेलहरू खेल्थे, टिभी, सिनेमामा देखेका र कम्प्युटरमा खेलेका खेलहरू ।
मेरो गाउँको नानीहरूले खेलेजस्ता खेलहरू उनीहरू खेल्दैनन् । मेरा गाउँका नानीहरूलाई सहरका यी सुसभ्य र नयाँ खेलहरूबारे केही थाहा छैन । उनीहरू सिन्कीधुलो, चिं मुसी चिं, टोपी लुकाइ, भ्यागुतो उफ्राइ, एक खुट्टे, डण्डीबियो, कपर्दी आदि पुरानै खेलहरूमा मस्त छन् । थाहा छैन मलाई पनि सहरका नयाँ र आधुनिक कुराहरूले उनीहरूलाई कहिले छुने हो । अँध्यारोमा दियालो र टुकी बाल्ने जङ्गली संसारबाट आधुनिक सभ्यताको खेल खेल्न कहिले पाउने हुन् उनीहरू ? म अनभिज्ञ छु ।
यी नानीहरू जसलाई सहरी सभ्यताले आधुनिक पाठ पढायो । नयाँ सभ्यताका कुराहरू घोकायो । यसमा उनीहरूको केही दोष छैन । उनीहरूमा उही बाल सुलभता छ, उही बाल चपलता छ र सबैलाई लट्ठ पार्ने उही मोहिनी मुस्कान छ ।
जब म कहिलेकाहीँ उनीहरूलाई छुन खोज्थेँ, उनीहरू कोही भाग्थे, कोही मसँग लुट्पुटिन्थे र कोही मलाई घेरामा पारेर कुट्न थाल्थे । मलाई लाग्थ्यो, उनीहरूका ती कलिला बाल हातको कुटाइ म सधैँ खाइरहन पाऊँ । अहा ! क्या रहरलाग्दा ती अबोध नानीहरू ।
उनीहरू हाँस्दा सेतो हिमाल हाँसेको देख्थेँ । आकाशको जून धर्तीमा टल्किएको देख्थेँ । उनीहरू रुँदा प्रकृतिको सुन्दर छहराबाट छङ्छङ् पानी खसिरहेको देख्थेँ । उनीहरू आपसमा कस्सेर बोल्दा चराहरू चिरबिराइरहेको सुन्थेँ । अरूलाई लट्ठ पार्ने त्यति बाल मोहिनी थियो उनीहरूमा ।
उनीहरू धरैजसो चलचित्रका खेलहरू खेल्थे । विशेषगरी फाइट देखाउने खेलहरू । उनीहरूमध्ये कोही नायक हुन्थे, कोही खलनायक । अनि विभिन्न एक्सनहरू निकालेर फाइट खेल्थे । उनीहरूसँग बन्दुकको खेलौना हुन्थ्यो । उनीहरू मध्ये कोही अरू मरेको अभिनय गर्थे । उनीहरूको शरीरमा रातो रङ मिसाएको पानीको पोको राखिएको हुन्थ्यो । बन्दुकले लाग्दा त्यो पोको फुट्थ्यो र रगतजस्तै रातो भेल बग्थ्यो । त्यसपछि नायक आफ्नो बहादुरी देखाउन तम्सिन्थ्यो र खलनायकको हातबाट बन्दुक बहादुरीका साथ खोसेर आफ्ना विरोधीहरूलाई सखाप पारेको अभिनय देखाउँथ्यो । त्यसपछि उसका पक्षधरहरू खुब रमाउँथे र ताली पिट्थे ।
मेरा गाउँले नानीहरू यस्तो बन्दुकको खेल खेल्न जान्दैनन् । न त जान्दछन् मान्छे मार्न र मरेको अभिनय गर्न । उनीहरू त राति सुत्ने बेलामा हजूरबाले राक्षसको कथा भन्दा पनि डरले स्याँ स्याँ र फ्याँ फ्याँ हुन्छन् ।
के थाहा ? अब उनीहरूको कलिलो मनमा पनि मान्छे भित्रको कठोरताले गाँज्ने हो कि ?
ती स्कुल जाने सहरका नानीहरूका क्रियाकलापहरू पछिल्ला दिनहरूमा म केही फरक पाउन थालेँ । उनीहरूले सधैँ खेल्ने खेल मैदान पनि अब अर्कै ठाउँ सरेको थियो ।
अब त उनीहरू कहिलेकाहीं स्कुल जान पनि छोडेका थिए । दिनहुँ जसो उनीहरू आफ्नो खेलस्थल फेरिरहन्थे । मान्छेहरूको भीडभन्दा टाढा रहेर खेल खेल्न रुचाउन थालेका थिए उनीहरू ।
मैले उनीहरूलाई पहिले जस्तो देख्न छोडिसकेको थिएँ । उनीहरू प्रायः दिन बिराएर स्कुल आउन थालेका थिए । उनीहरूले खेलेका अचम्म लाग्दा खेलहरू हेर्न नपाएको पनि निकै दिन भैसकेको थियो । यसको कारण केही दिन अगाडि देखि नै उनीहरू सबैले देख्ने त्यो स्कुलको चौरमा खेल्न छोडिसकेका थिए ।
मलाई अब निरस निरस लाग्न थालेको थियो त्यहाँको वातावरण । तिनीहरू पढ्ने स्कुल जुन मेरो अफिसको नजिकै पथ्र्यो । म काम गर्ने माथिल्लो तलाको कोठाबाट उनीहरूको स्कुल प्रस्टै देख्थेँ । उनीहरूले खेल्ने गरेको छुट्टै चहुर जहाँ अब अरू नै केटाकेटी खेल्ने गर्थे । जब उनीहरूको टिपिन हुन्थ्यो म आँखा तिखा पारेर उनीहरू खेल्ने ठाउँ हेरिरहन्थेँ, कतै उनीहरू सदाझैँ त्यहाँ खेल्न आउँछन् कि भनेर । मेरा कानहरू त्यतै लालायित हुन्थे । तर उनीहरू आएनन् । निकै दिन भैसक्यो उनीहरू अभैm आएनन् । त्यसरी उनीहरू सबैले एकैचोटि स्कुल छोड्नुपर्ने कारण के हो ? म गम्भीर भएर सोच्न थालेँ । कतै उनीहरूले त्यो स्कुल छोडेर अर्कै स्कुलमा पढ्न त गएनन् ? म यही कुरो मनमा खेलाइरहन्थेँ, के परो त उनीहरूले स्कुल छोड्नुपर्ने कारण ?
तिनीहरूलाई दिनहुँ देख्ता म मेरा गाउँका स्कुले नानीहरूलाई सम्झन्थेँ । मेरा कलिला छोराछोरीहरू मेरै अगाडि उपस्थित भएर हासखेल गरेको सम्झन्थेँ । मेरा काखमा लुट्पुटिएको कल्पना गर्थें ।
मलाई उनीहरूको त्यो स्कुल, खेल्ने चहुर मात्र नभएर मेरो अफिस नै शून्य र निरस लाग्न थालेको थियो । फुत्रुङ–फुत्रुङ हिँड्ने उनीहरूका कलिला गोडाहरू, साना हातहरू, पिठ्युँको टिपिन क्यारी र सानो बोतलमा पानी सहितको किताब बोक्ने झोला, त्यो मृदु बाल मुस्कान र अचम्म लाग्दा खेलहरू हेर्न म सधैँ लालायित हुन्थेँ । उनीहरूको अनुपस्थितिमा अब ती कुराहरू सम्झनाका मीठा तरङ्ग मात्र बन्न थाले ।
ती एक हुल स्कुले नानीहरू कहाँ गए होला ? मलाई यही कुराले पिरोल्न थालेको थियो । उनीहरूका कलिला हातहरू छोएर आनन्द लिन नपाएको धेरै भइसकेको थियो ।
अफिसमा दिक्क लागेर एक दिन म दिउँसोको समयमा स्वयम्भूतिर डुल्न निस्किएँ । स्वयम्भू र त्यस वरिपरिको जङ्गल अति आल्हादकारी लाग्थ्यो मलाई । मनका सबै पीर व्यथाहरू त्यहाँ पुगेपछि एकाएक हराएजस्तो लाग्थ्यो र अपार शान्तिको महसुस गर्न पुग्थेँ म ।
घाम डुब्न–डुब्न लागेको थियो । त्यहाँ घुम्न आउने मान्छेहरू सबै आ–आफ्नो घर डेरातर्फ फर्किने तरखरमा थिए । त्यहाँका चन्चले बाँदरहरू पनि घरि वल्लो रूख घरि पल्लो रूख चहार्दै थिए ।
मैले त्यतिखेर त्यहाँ कतै साना केटाकेटीहरू कराइरहेको आवाज सुनेँ । त्यो आवाज मलाई कतै सुनेजस्तो परिचित लाग्यो । म त्यो परिचित आवाज पछ्याउँदै स्वयम्भूको हरियो जङ्गल चहार्न थालेँ । म त्यो आवाजको जति नजिक पुग्छु उति कर्कश र रुखो स्वर सुन्न थालेँ । मलाई भित्रभित्रै डर पनि लागेर आयो । तर पनि म त्यो आवाजतिर तानिँदै गएँ ।
त्यहाँ तिनै केटाकेटीहरूको हुल रहेछ, जो सधैँ मेरो मन मष्तिष्कमा नाचिरहेका थिए, जसको खोजीमा म दिनहुँ भौतारिएको थिएँ हो तिनै केटाकेटीको भीड देखेँ मैले ।
जब म उनीहरूको नजिक गएँ मैल त्यहाँ अचम्म लाग्दो दृश्य देखेँ । तिनीहरू सदाझैँ खुसीले रमाएका थिएनन् । उमङ्गले नाचेका थिएनन् ।
त्यहाँ थियो एक डरलाग्दो र विभत्स दृश्य । मैले कहिल्यै नदेखेको र नसोचेको दृश्य ।
तिनीहरू बहुत् उत्तेजित अवस्थामा थिए त्यतिखेर । तिनीहरूका किताव, कापी, कलम छरपस्ट भुइँमा छरिएका थिए । उनीहरूका खुट्टाका जुत्ता समेत उछिट्टिएर कहाँ पुगेका थिए उनीहरूलाई पत्तो थिएन । कतिका सर्टहरू च्यातिएका थिए । फ्रक र पयन्टहरू खुस्किएका थिए । एकदम जङ्गली अवस्थामा डरलाग्दा देखिएका उनीहरू एकापसमा कुटाकुट, लुछाचुँडी र मारामार गरिरहेका थिए ।
यत्तिकैमा उनीहरूमध्ये दुई चार जनाको हातमा पेस्तोल देखियो । त्यो उनीहरूको हातमा सदाझैँ नक्कली नभएर साँच्चिकै गोली भरिएको पेस्तोल थियो ।
अचानक उनीहरूका हातबाट पेस्तोल चल्यो, ड्याम–ड्याम–ड्याम । मलाई यस्तो लाग्यो– तिनीहरू साँच्चिकै मान्छे मार्ने खेल खेलिरहेका थिए । रगतको उन्माद्ले मात्तिरहेका थिए ।
एकछिन पछि उनीहरू सबै भुइँमा ढले । उनीहरूका कलिला बाल शरीरबाट रगतका फोहोराहरू निस्किरहेका थिए ।
म यो विभत्स दृश्यबाट अत्यन्त भयभीत भएँ र डरले थररर काम्दै त्यहाँबाट भागेँ । मलाई यस्तो लाग्यो– त्यो कहालीलाग्दो वर्तमानले मलाई अँध्यारोतर्फ लखेटिरहेको छ । भाग्दाभाग्दै म कहिल्यै नउक्सिने अँध्यारो खाडलमा जाकिनै लागेको छु । म समाप्तै हुन लागेको छु ।
कसले सिकायो ती स्कुल जाने कलिला नानीहरूलाई त्यो रगतको खेल ? कसले पढायो भविष्यका ती होनहार कर्णधारहरूलाई मान्छे मार्ने विभत्स कला ? मेरो दिमागले यो कुरा खुट्याउन सकेन । म त्यहाँबाट अलि मास्तिर एउटा ढिस्कोनिर पुगेको रहेछु । मलाई अचानक चक्कर लाग्यो । म त्यहीँ डङ्ग्रङ्ग ढलेँ र बेहोस भएँ ।
एक छिनपछि होस खुल्दा त्यो सपना थिएन । त्यो त वास्तविकता थियो । वर्तमान युगले पढाएको सभ्यताको खेल थियो । प्रकृतिको अनुपम सृष्टि मान्छेले मान्छेकै हत्या गर्ने लोकप्रिय खेल ।
म लडेको स्थानबाट बिस्तारै उठेँ र पुनः एक चोटि त्यो डरलाग्दो दृश्यमा आखाँ बिछ्याएँ । ती कलिला नानीका लासहरू रगतका आलमा डुबिरहेका थिए । उनीहरूलाई जीवनको बाटो देखाउने, गन्तव्य पहिल्याउने किताबका अमूल्य पानाहरू रातो रगतको पोखरीमा पौडी खेलिरहेका थिए ।
र अलिपर उभिएको स्वयम्भूले आफ्ना दुईवटा आँखाबाट तप–तप राता आँसु चुहाइरहेको थियो ।

-स्रोत : ‘म पनि बग्दैछु साप्सु’  (कथा सङ्ग्रह) २०७३

टङ्क भट्टराई  (२०२७) कविता, कथा र गीतमा कलम चलाउनु हुने भट्टराईका ‘साँझमा पहिलो तारा’ ९कविता सङ्ग्रह (२०६८) र ‘म पनि बग्दैछु साप्सु’  (कथा सङ्ग्रह) २०७३ प्रकाशित कृतिहरू हुन । उहाँका दर्जनबढी गीतहरू समेत रेकर्डिङ भएका छन् । विभिन्न साहित्यिक पुरस्कार र सम्मान प्राप्त गर्नु भएका भट्टराईका थुप्रै फुटकर रचनाहरू प्रकाशित छन् । भट्टराईले विभिन्न साहित्यिक र अन्य पत्रपत्रिकाहरूको सम्पादन गर्नुका साथै थुप्रै साहित्यिक र गैह्र साहित्यिक संस्थाहरूमा नेतृत्वदायी भूमिकासमेत निर्वाह गर्नु भएको छ ।

 

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...